राष्ट्र बैंकमा ६१ जना कर्मचारी माग, यस्तो छ चाहिने योग्यता « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

राष्ट्र बैंकमा ६१ जना कर्मचारी माग, यस्तो छ चाहिने योग्यता



काठमाडौं । नेपाल राष्ट्र बैंकले विभिन्न पदमा ६१ जना कर्मचारी माग गर्दै खुला प्रतियोगितात्मक परीक्षामार्फत पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ। बैंकको मानव संसाधन व्यवस्थापन विभागले कात्तिक २७ गते सूचना जारी गर्दै प्रशासन तथा प्राविधिक सेवातर्फका विभिन्न पदमा आवेदन खुलाएको हो।

राष्ट्र बैंकले अधिकृत तृतीय श्रेणीअन्तर्गत सहायक निर्देशक पदमा २६ जना कर्मचारी माग गरेको छ। त्यस्तै सहायक निर्देशक (लेखा/लेखापरीक्षण) मा ३ जना, सहायक निर्देशक (वाणिज्य कानुन) मा २ जना र सहायक निर्देशक (सूचना प्रविधि) मा ४ जना कर्मचारी माग गरिएको छ।

यसैगरी सहायक द्वितीय श्रेणीअन्तर्गत सहायक पदमा २६ जना कर्मचारीका लागि आवेदन खुलाइएको छ। यसरी बैंकले कुल ६१ पदमा कर्मचारी भर्ना गर्न लागेको हो।

इच्छुक तथा योग्य नेपाली नागरिकले बैंकको अनलाइन प्रणालीमार्फत आवेदन दिन सक्नेछन्। आवेदन दिँदा नेपाली नागरिकताको प्रमाणपत्र, सम्बन्धित पदका लागि आवश्यक न्यूनतम शैक्षिक योग्यताको प्रमाणपत्र, ट्रान्सक्रिप्ट, चारित्रिक प्रमाणपत्र तथा आवश्यक अन्य कागजात अपलोड गर्नुपर्नेछ। विदेशी शिक्षण संस्थाबाट शैक्षिक योग्यता हासिल गरेका उम्मेदवारले समकक्षताको प्रमाणपत्रसमेत पेस गर्नुपर्नेछ।

सहायक द्वितीय पदका लागि आवेदन दिने उम्मेदवारले लोक सेवा आयोगबाट सञ्चालित एकीकृत परीक्षा प्रणालीअन्तर्गतको पूर्वयोग्यता परीक्षा उत्तीर्ण गरेको प्रमाणपत्र पनि पेस गर्नुपर्नेछ। उम्मेदवारले तोकिएको परीक्षा दस्तुर बुझाएर मंसिर १७ गतेसम्म आवेदन दिन सक्नेछन्। उक्त अवधिमा आवेदन दिन नसक्नेले दोब्बर दस्तुर तिरेर मंसिर २४ गतेसम्म दरखास्त पेस गर्न सक्ने व्यवस्था गरिएको छ।

प्रकाशित : 13 November, 2026 10:49 am