काठमाडाैँ । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीले यस अवधिमा १२ करोड ५६ लाख ८२ हजार रुपैयाँ खुद नाफा कमाएको छ । उक्त नाफा गत वर्षको सोही अवधिको तुलनामा १०.७९ प्रतिशतले कम हो । गत आवको सोही अवधिसम्म कम्पनीले १४ करोड आठ लाख ८५ रुपैयाँ खुद नाफा कमाएको थियो ।
कम्पनीको कुल खर्च बढेका कारण नाफामा असर परेको हो । गत वर्ष ६ अर्ब ९६ करोड ९१ लाख रुपैयाँ रहेको कम्पनीको कुल खर्च चालु आवको पहिलो त्रैमाससम्म आइपुग्दा २८.०८ प्रतिशतले बढेर आठ अर्ब ९२ करोड ६६ लाख रुपैयाँ पुगेको छ ।
यस अवधिमा कम्पनीको लगानी तथा कर्जाबाट हुने आम्दानी १५.२३ प्रतिशतले बढेर एक अर्ब ६३ करोड ४७ लाख रुपैयाँ पुगेको छ । गत वर्ष यस्तो आम्दानी एक अर्ब ४१ करोड ८६ लाख रुपैयाँ रहेको थियो ।
समिक्षा अवधिमा कम्पनीको कुल आम्दानी पनि गत वर्ष सात अर्ब ३१ करोड ३४ लाख रुपैयाँ रहेकोमा चालू आवमा आइपुग्दा २५.८९ प्रतिशतले बढेर ९ अर्ब २० करोड ४४ लाख रुपैयाँ पुगेको छ ।
असोज मसान्तसम्म आइपुग्दा कम्पनीको खुद बीमाशुल्क आर्जन ३०.१३ प्रतिशतले बढेको छ । यस अवधिमा खुद बीमाशुल्क सात अर्ब १९ करोड ५६ लाख रुपैयाँ रहेको छ । गत वर्षको सोही अवधिसम्म कम्पनीले पाँच अर्ब ५२ करोड ९४ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो ।
यसैगरी कम्पनीले चालु आवको पहिलो त्रैमाससम्ममा सात अर्ब ३९ करोड ७२ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। जुन गत वर्षको तुलनामा २९.३१ प्रतिशतले बढी हो । गत वर्ष कम्पनीले ५ अर्ब ७२ करोड ६ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो।
गत वर्षको असोज मसान्तसम्म ९३ अर्ब ६३ करोड ५२ लाख रुपैयाँ रहेको कम्पनीको जीवन बीमाकोषको आकार चालू आवको सोही अवधिमा १५.८२ प्रतिशतले बढेर एक खर्ब आठ अर्ब ४५ करोड २६ लाख रुपैयाँ कायम भएको छ।
यद्यपी समिक्षा अवधिमा कम्पनीको अभिकर्ता कमिशनको खर्च पनि बढेको छ । असोज मसान्तसम्म इन्स्योरेन्सले अभिकर्ता कमिशनमा ५७ करोड ८४ लाख ११ हजार रुपैयाँ खर्चिएको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ४७ करोड ७१ लाख ९३ हजार रुपैयाँ खर्चिएको थियो ।
कम्पनीले यस अवधिमा सात अर्ब ६४ करोड १० लाख ६५ हजार रुपैयाँ कुल दाबी भुक्तानी गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा यस्तो भुक्तानी ६ अर्ब ५ करोड ५१ लाख ६४ हजार रुपैयाँ थियो ।
यस अवधिमा कम्पनीको नाफासँगै वार्षिक प्रतिशेयर आम्दानी पनि घटेको छ । गत वर्षको असोजसम्म १०.३० रुपैयाँ रहेको कम्पनीको यस्तो आम्दानी घटेर ८.८३ रुपैयाँमा झरेको छ । यस अवधिमा कम्पनीको मूल्य आम्दानी अनुपात ६४.८९ गुणा गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १३०.१९ रुपैयाँ रहेको छ।
असोज मसान्तसम्म पाँच अर्ब ६९ करोड १६ लाख रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको शेयर प्रिमियममा दुई करोड ७८ लाख रुपैयाँ, महाविपत्ती कोष ७५ करोड ८५ लाख ५४ हजार रुपैयाँ, रिटेन्ड अर्निङ्गमा ६० करोड ४९ लाख रुपैयाँ र अन्य इक्विटीमा ३२ करोड ६७ लाख रुपैयाँ सञ्चित छ।





Comment