काठमाडौं । राउन्ड टेबल नेपालले त्रिनेत्र फाउन्डेसनअन्तर्गत रहेका दृष्टिविहीन बालबालिकाका लागि निर्माण गरिएको आधुनिक आवासीय भवन उद्घाटन गरेको छ । करिब नौ महिनामा सम्पन्न भएको उक्त परियोजनालाई राउन्ड टेबल नेपालको इतिहासकै सबैभन्दा ठूलो सामाजिक सेवा परियोजनामध्ये एक मानिएको छ ।
करिब १ करोड ८३ लाख रुपैयाँ लागतमा निर्माण सम्पन्न भएको भवनले दृष्टिविहीन बालबालिकालाई सुरक्षित, सम्मानजनक र गुणस्तरीय बसोबासको वातावरण उपलब्ध गराउने उद्देश्य राखेको छ । एक रोपनी क्षेत्रफलमा बनेको भवनमा ४८ भन्दा बढी बालबालिकाको बसोबासको व्यवस्था गरिएको छ ।
भवनमा छवटा आवासीय कोठा, भोजन कक्ष, पूर्ण सुविधायुक्त भान्सा, स्नानगृह तथा अन्य आवश्यक पूर्वाधार निर्माण गरिएको र यसले बालबालिकाको समग्र विकास, सुरक्षा र सहज जीवनयापनमा योगदान पुर्याउने अपेक्षा गरिएको राउन्ड टेबल नेपालले जनाएको छ ।
परियोजना डोल्मा फाउन्डेसन, माज्जाली परिवार, विभिन्न व्यक्तिगत दाता, संस्थागत साझेदार तथा शुभेच्छुकहरूको सहयोगमा सम्पन्न भएको हो । सहयोगीहरूले भवन निर्माणसँगै दृष्टिविहीन बालबालिकाका लागि सम्मानपूर्वक बस्न, शिक्षा हासिल गर्न र भविष्यको सपना देख्न सक्ने वातावरण निर्माणमा योगदान पुर्याएको संस्थाको भनाइ छ ।
परियोजनाको नेतृत्व काठमाडौं राउन्ड टेबल–१ का अध्यक्ष सञ्जीव अग्रवालले गरेका थिए । उद्घाटन समारोहमा विश्वप्रसिद्ध नेत्र विशेषज्ञ तथा मानवतावादी डा। सन्दुक रुइत प्रमुख अतिथिका रूपमा सहभागी थिए ।
कार्यक्रममा डोल्मा फाउन्डेसन, माज्जाली परिवार, राउन्ड टेबल नेपाल, दाता, स्वयंसेवक, सहयोगी तथा स्थानीय समुदायका प्रतिनिधिको उल्लेखनीय सहभागिता रहेको थियो ।
कार्यक्रममा राउन्ड टेबल नेपालका प्रतिनिधिहरूले प्रत्येक बालबालिकाले आफ्नो शारीरिक अवस्था वा आर्थिक पृष्ठभूमि जस्तोसुकै भए पनि समान अवसर प्राप्त गर्नुपर्ने धारणा पुनः व्यक्त गरे । साझा उद्देश्यका साथ व्यक्ति, परिवार, संस्था र समुदाय एकजुट हुँदा असम्भव देखिने कार्य पनि सम्भव बन्न सक्ने उदाहरणका रूपमा उक्त परियोजनालाई प्रस्तुत गरिएको थियो ।
राउन्ड टेबल नेपालले आवासीय भवनलाई करुणा, सहकार्य र निःस्वार्थ सेवाको स्थायी प्रतीकका रूपमा व्याख्या गर्दै यसले आगामी पुस्तासम्म दृष्टिविहीन बालबालिकालाई आफ्नै घरको अनुभूति दिलाउने विश्वास व्यक्त गरेको छ ।






Comment