वाणिज्य बैंकहरुको नाफा ६४ अर्ब माथि, ग्लोबल आईएमईलाई उछिन्दै नबिल बन्यो पहिलाे « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बिशेष

वाणिज्य बैंकहरुको नाफा ६४ अर्ब माथि, ग्लोबल आईएमईलाई उछिन्दै नबिल बन्यो पहिलाे



काठमाडौं । वाणिज्य बैंकहरुले एक वर्षमा साढे ७ अर्ब नाफा बढाएका छन् । बैंकहरुले सोमबार प्रकाशन गरेको गत आर्थिक वर्ष २०८०/८१ को चौंथो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो ।

हाल संचालनमा रहेको २० वाणिज्य बैंकहरुले कुल ६४ अर्ब १५ करोड ३० लाख ८६ हजार रुपैयाँ खुद नाफा कमाएका छन् । यो नाफा अघिल्लो आवको तुलनामा १३.४० प्रतिशत अर्थात् ७ अर्ब ५७ करोड ८६ लाख ३४ हजार रुपैयाँ बढी हो । अघिल्लो आवमा बैंकहरुले ५६ अर्ब ५७ करोड ४४ लाख ५२ हजार रुपैयाँ नाफा कमाएका थिए ।

वित्तीय विवरणअनुसार गत बर्ष १० वटा वाणिज्य बैंकको नाफा बढेको छ भने १० वटाको घटेको छ । गत आर्थिक वर्षमा सर्वाधिक नाफा कमाउनेमा नबिल बैंक रहेको छ भने नाफा वृद्धिदरका हिसाबले प्रभु बैंक अगाडि रहेको छ। नबिल बैंकले ७ अर्ब ६ करोड रुपैयाँ नाफा आर्जन गरेको छ।

यसैगरी दोस्रो सर्वाधिक नाफा कमाउने बैंकमा ग्लोबल आइएमई रहेको छ। यो बैंकले ६ अर्ब १ करोड ६२ लाख रुपैयाँ नाफा आर्जन गरेको छ।

धेरै नाफा कमाउने सूचीमा ग्लोबल आइएमई तेस्रो स्थानमा रहेको छ। यो बैंकले ५ अर्ब १९ करोड ८३ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। नाफा वृद्धिदरका हिसाबले प्रभु बैंक पहिलो स्थानमा रहेको छ। अघिल्लो वर्षको तुलनामा गत आर्थिक वर्षमा प्रभु बैंकको नाफा १४९९.०४ प्रतिशतले बढेको छ। गत आर्थिक वर्षमा प्रभुले ४ अर्ब ४८ करोड ८ लाख रुपैयाँ नाफा आर्जन गरेको छ।

यसैगरी नाफा वृद्धिदरका हिसाबले कुमारी बैंक दोस्रो स्थानमा रहेको छ। अघिल्लो वर्षको तुलनामा कुमारी बैंकको नाफा ३४५.६७ प्रतिशतले बढेको छ। अघिल्लो वर्ष ५१ करोड ७९ लाख रुपैयाँ नाफा आर्जन गरेकोमा गत वर्ष २ अर्ब ३० करोड ८२ लाख रुपैयाँ नाफा कमाएको छ।

प्राइम बैंक नाफा वृद्धिदरका हिसाबले तेस्रो स्थानमा रहेको छ। यो बैंकको नाफा अघिल्लो वर्षको तुलनामा २६७.१९ प्रतिशतले बढेको छ। अघिल्लो वर्ष १ अर्ब २ करोड ७८ लाख रुपैयाँ नाफामा रहेकोमा गत वर्ष बढेर ३ अर्ब ७७ करोड ४३ लाख रुपैयाँ पुगेको छ।

त्यस्तै कृषि विकास बैंकको नाफा पनि १७६.२३ प्रतिशतले बढेर ३ अर्ब ६५ करोड ५६ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष बैंकको नाफा १ अर्ब ३२ करोड ३४ लाख रुपैयाँ थियो।

गत आर्थिक वर्षमा सबैभन्दा कम नाफा कमाउनेमा माछापुच्छ्रे बैंक रहेको छ। यो बैंकले गत आर्थिक वर्षमा १ अर्ब २५ करोड १ लाख रुपैयाँ नाफा आर्जन गरेको छ।

प्रकाशित : २१ श्रावण २०८१, सोमबार ११:३८