मानिसहरुमा अनगिन्ती आवश्यक्ता र आकाँक्षाहरु हुन्छन् । एक्लाएक्लै ती आवश्यकता र आकाँक्षाहरु पूरा गर्न कठिन हुन्छ । आवश्यक्ता र आकाँक्षाहरु साझा गर्दा सबैको आवश्यक्ता र आकाँक्षा पूरा हुन्छ । यसको एक सशक्त माध्यम हो सहकारी । शुरुमा यति बुझे । सहकारीमा आवद्ध भए । सानो सानो रुपैया बचत गर्न शुरु गरे । सानो तिनो ऋण उपयोग पनि गर्न थालें । विस्तारै सहकारी प्रति चाख बढ्न थाल्यो । सहकारीको सञ्चालक समितिमा बस्ने मन गरे । बसें । केही काम गरें, आफ्नो विचार राख्दै गएँ । समयसंग सहकारीको हिसाब हेर्न जान्ने बन्नु पर्छ भन्ने आभास हुन थाल्यो । कताबाट तालिम पाईला र व्यवस्थित हिसाब राख्न सकिएला भन्ने हुटहुटप् मनमा चल्न थाल्यो । बागमती जालाधार आयोजनाले वित्तीय मध्यस्थकर्ता मार्फत गरिबी निवारणमा न्यून ब्याजमा रकम परिचालन गर्ने कुरा जानकारी भयो । त्यता सोध्दै खोज्दै पुगियो । आफ्ना कुरा राखियो । आयोजनको कुरा सुनियो । मिलेर काम गर्ने निधो भयो । सम्झौता भयो । आफुलाई सहकारी सिक्ने धोको मध्येको सहकारीका प्रारम्भिक लेखापालन, लेखा प्रतिवेदनहरुको तयारी र प्रस्तुती जस्ता कुराहरु त्यही आयोजनाबाटै पूरा भयो । त्यही सीपको प्रयोग गर्दै एक सहकारीको प्रबन्ध सञ्चालक, व्यवस्थापक, हुँदै प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारीमा भूमिका निर्वाह गरियो ।
विस्तारै सहकारी अभियानका क्रममा विषयगत संघहरुसंग सम्बन्ध सुमधुर बन्दै गयो । त्यहीबाट वित्तीय विश्लेषण गर्ने, पल्र्स विश्लेषण गर्ने र सहकारीका अशल अभ्यासहरुको बारेमा जानकारी लिने अवसर प्राप्त भयो उक्त अवसरसंगै भावी दिनमा तीनै विषयगत संघहरु मार्फतबाट सेवा गर्ने धोको बढ्न थाल्यो । त्यो धोको पनि नेफ्स्कूनले पूरा गरिदियो । अब म आफु सिक्नेबाट सिकाउने ठाउँमा पुगे । सिकाउनु मेरो लागि चुनौती थियो किनकी मभन्दा धेरै अभियान जानेबुझेका सहकारीकर्मीहरुले अभियानमा आफ्नो भूमिका तेज बनाई सक्नुभएको थियो । उहाँहरुको गतिमा अगाडि बढ्नु पक्कै पनि सहज थिएन् तर पूर्ण आत्मविश्वासका साथ कर्तव्य पथमा अगाडि बढ्न प्रण गरे, अध्ययनलाई तीव्रता प्रदान गरे, विश्व अभ्यासको सुक्ष्म अध्ययन गर्दै गएँ । मेरो सिकाईको कार्यथलो विभिन्न सहकारी संस्थाहरु हुन थाले । भिन्न भिन्न सहकारी संस्थाहरुले गरेको अभ्यासहरु मेरा लागि सहकारीका भिन्न भिन्न पाठ्क्रमहरु भए, अनि ती सहकारी संस्थाहरु विश्वविधालय र सहकारी संस्थाका सञ्चालक समिति र व्यवस्थापनका साथीहरु मेरा श्रोत व्यक्ति ।
जब म सहकारीका ती विश्वविधालयमा प्रवेश गरेर अध्ययन गर्न थाले तब मेरा आँखाले अनेक तथ्यहरु हेर्न थाले । आफुले सिकेका विषयवस्तु र आफुले सिकाउने विषयवस्तुमा के अन्तर छ छुट्याउन केही समय निश्चय पनि लाग्यो । जब दुई सन्दर्भको अन्तर बुझे तब कुन सन्दर्भ चाहीँ सहकारी अभियानको लागि ठिक भन्ने प्रश्नको उत्तरको खोजीमा लागे । केही समयमा नै ती सन्दर्भहरुको भेद पत्ता लगाएँ । यहाँ त बुझ्ने एकथरी र गर्ने अर्को थरी रहेछ अनि मेरो मस्तिष्कमा एउटा गहिलो छाप बस्यो– खै मैले के सहकारी बुझे ? अब कसरी निस्कन्छ यो प्रश्नका उत्तर अझै म अलमलमा नै छु ।
जसले आफ्नो पूँजीले मात्रै आफ्नो उद्यम चलाउन सक्दैनन् त्यस्ता व्यक्तिहरुले आफ्नो समूह बनाई सानो सानो पूँजीलाई एकत्रित गरी वृहत पूँजी निर्माण गर्दै उक्त पूँजी आफैले विभिन्न उद्यममा परिचालन गर्ने र स्वनियमनमा बसी अनुशासित कारोबार गरी जीवन परिवर्तनको आकाँक्षा पूरा गर्नु नै मैले बुझेको वित्तीय सहकारीको मूल मर्म हो तर यहाँ त चतुरले नेतृत्व लिने, सर्वसाधारणबाट बचत जम्मा गर्ने, उनीहरु माथि शासन गर्ने, उनीहरुको बचत तिनै चतुर व्यक्तिले आफुखुशी लगानी गर्ने, आफु करोडपति बन्ने, सम्भ्रान्त जीवन प्रर्दशन गर्ने, अनेकन परियोजनामा आफ्नो नाममा पूँजीको लगानी गर्ने, सहकारी मार्फत उच्च पदस्थ व्यक्तिहरुसम्म पहुँच विस्तार गर्ने, समाजमा प्रभाव जमाउने व्यक्तिहरुले सहकारीको नेतृत्व गर्ने र संस्था आफ्नो नीजि व्यवसाय जसरी चलाउनेहरुको झुण्ड बाक्लै रहेछ बल्ल मलाई थाहा हुन थाल्यो भने मैले के सहकारी बुझें त ?
सहकारी सदस्यले, सदस्यका लागि, सदस्यद्धारा सञ्चालन गर्ने सर्वोत्कृष्ट संगठन हो । यहाँ सदस्य आफ्नो आवश्यक्ता पूरा गर्न संगठित हुन्छन्, आफैंले तयार गरेको विधी अनुसार निर्वाचित हुन्छन र आफैंले बनाएको कानुन (नीति, निर्देशिका) बमोजिम सञ्चालन हुन्छन भन्ने मैले बुझेको हो तर यहाँ आफु बाहिर नदेखिने, आफुले भनेको मान्ने मानिसहरुलाई आवरणमा देखाएर संस्थामा बचत संकलन गर्न लगाई संकलन भएको बचत रकम आफ्ना नीजि उद्यम, शेयर बजार, होटल रिसोर्ट निर्माण र पार्टी प्यालेस निर्माणमा लगानी गरी आफु मालिक बन्ने मानिसहरु पनि हुन्छन भन्ने बल्ल मात्रै थाहा पाए भने मैले खै के सहकारी बुझें ?
सहकारीमा सदस्यहरुले थोरै थोरै बचत जम्मा गर्दछन्, आफुले परिचालन गर्न सक्ने ऋण उपयोग गर्छन र उक्त ऋण उद्यमशिलताको क्षेत्रमा लगानी गरी सहकारीको ऋण मार्फत मालिक बन्दछन भन्ने मैले बुझेको हो तर आफैले सहकारी संस्था दर्ता गरी गराई आफुले गैह््र कानुनी रुपमा आर्जन गरेको रकमलाई सहकारी मार्फत शुद्धिकरण गरी आफ्नो अवैधानिक पूँजीलाई बैधानिक बनाउछन भन्ने पछिल्ला दिनमा प्रकाशन भएका समाचारहरुबाट मात्रै मैले थाहा पाउँछु भने मैले खै के सहकारी बुँझे ?
नेपालको कुनै एक बचत तथा ऋण सहकारी संस्थाको सदस्य बन्नु भनेको विश्व ऋण परिषदको समेत अप्रत्यक्ष सदस्य बन्नु हो । त्यसैले सहकारीको सदस्य बन्दा सदस्य पहुँच विश्व भरीको वित्तीय बजारसम्म पुग्दछ र उक्त पहुँच मार्फत सदस्यले वित्त परिचालनको उत्कृष्ट अभ्यास प्राप्त गर्न सक्दछन र उक्त अभ्यास मार्फत सदस्यको जीवन समृद्ध बनाउन सजिलो हुन्छ भन्ने मैले बुझेको हो तर सिमित व्यक्तिको लाभ, महत्वकाँक्षा र आफ्नो अनुकलताको लागि देश भित्रकै अभियानमा पनि ऐक्यवद्धता र इमान्दारिता कायम हुन सक्दैन, विश्व अभ्यासको उपयुक्त अभ्यासहरु जुन रुपमा भित्रनु पर्दथ्यो त्यसरी भित्रैदैन भन्ने कुरा बल्ल मात्रै थाहा पाउँदैछु भने मैले खै के सहकारी बुझे ?
सहकारीमा राजनीतिक, आर्थिक, लैङगिक, धार्मिक, साँस्कृति कुनै पनि किसिमको विभेद हुदैन र गर्न पाइदैन त्यसैले सहकारीको आफ्नै किसिमको विशिष्ट संस्कृति हुन्छ र त्यही संस्कृतिको जगमा सहकारी संस्थाहरुले स्थायित्व प्राप्त गर्दछन भन्ने मैले बुझेको हो तर यहाँ जात, धर्म, संस्कृति, राजनीति र लिङ्गको आधारमा समेत नेतृत्व र व्यवस्थापनमा विभेद हुन्छ, आफ्नालाई काख र अरुलाई पाखाको नीति लिइन्छ भन्ने बल्ल पो बुझ्छु भने मैले खै के सहकारी बुझें ?
सहकारीले आफ्ना सदस्यहरुको सामाजिक न्यायका लागि बोल्दछ । आफ्ना सदस्यहरुको कुरा सुनेर नीति तथा कार्यक्रमहरुको विकास गर्दछ, सदस्यको सहभागिता र उनीहरुको सन्तुष्टी नै आफ्नो सफलता सम्झन्छ र सदस्य एवम् समुदायको भलो चिताएर काम गर्दछ भन्ने मेरो बुझाई हो तर एक बचन सदस्यलाई नसोधी, सदस्यले सकारात्मक विकासका लागि दिएको सुझाव कति पनि ग्रहण नगरी, सदस्यहरुको हितलाई भन्दा आफ्नो स्वार्थ र आफ्नो खुशीलाई केन्द्रमा राखी काम गर्दछ भन्ने कुरा बल्ल बुझ्दै छु भने खै मैले सहकारी के बुझे ?
सुभचिन्तक भएको नाताले, आफुले ठूलो शेयर खरिद गरेको नाताले वा कुनै आस्था विचारको आधारले नभई आफुले काम गरेर अनुभव प्राप्त गरे पछि सोही सफलताको अनुसरण गराउनका लाग प्रोत्साहित गर्ने मानिसहरु सहकारीको नेतृत्व गर्दछन् भन्ने मैले बुझेको हो तर आफुले कुनै काममा विशेष दख्खल नराखी ऐन मौकाको लाभको आधारमा नेतृत्वमा आई अभियान सञ्चालन हुन्छ भन्ने कुरा बल्ल बुझ्दैछु भने खै मैले सहकारी के बुझें ?
वित्तीय परिचालन हुने क्षेत्र भएकोले सहकारीहरुले उच्चतम वित्तीय अनुसासन कायम गर्दछ र वित्तीय अनुसासन कायम गर्न नसक्नेले सहकारी अभियानमा स्थान प्राप्त गर्न सक्दैन भन्ने मेरो बुझाई हो तर सहकारीको आवरणमा सदस्यहरुबाट उठाएको रकम राम्रोसंग हिसाब किताब पनि नराख्ने, सहकारीबाटै राजनीतिक दलका लागि चन्दा प्रवाह गर्ने, कृतिम हिसाब किताब राख्ने, वित्तीय अनुशासन भंग गर्नेलाई ढाकछोप गरी जोगाई विकृतिको संरक्षण गर्ने काम सहकारी भित्र हुन्छ भन्ने कुरा बल्ल बुझ्दै छु भने खै मैले सहकारी के बुझें त ?
सहकारीमा कहिले काँही समस्या आउँछन्, त्यस्ता समस्या आउँदा अभियानमा सञ्जालले समाधानका लागि योगदान गर्दछन्, त्यसैले सहकारी संस्थाहरु अभियानमा जोडिन्छन, आफ्ना समस्याहरु समयमा नै अभियानमा जस्ताको त्यस्तै राख्छन्, अभियानले त्यस्ता समस्या समाधानका लागि विशेष चासो राखी आफ्नो व्यवस्थापकीय दख्खल प्रर्दशन गर्दछन र अभियानमा जोडिएका कुनै पनि सहकारी संस्थाहरु समस्यामा पर्दैनन् भन्ने मेरो बुझाई हो तर अभियानमा जोडिनु, जोडाउनु, अभियानले गरेको दिशानिर्देशलाई आत्मसाथ गरी सहकारी संस्थामा कार्यन्वयन गर्नु, गराउनु, भविष्यमा कुनै संकट आउँछ कि ? भविष्य आउन सक्ने सम्भावति संकटको व्यवस्थापनको पूर्व तयारी गर्नु पर्दछ कि ? भन्ने कुराको कुनै ख्याल नगरी वर्तमान अवस्थामा मात्रै रमाउने प्रवृत्तिले भविष्यमा सहकारी अभियानमा क्षती पुग्छ भन्ने कुरा बल्ल बुझ्दै छु भने खै मैले सहकारी के बुझें ?
यस्ता सयौं अनुतरित प्रश्नको जवाफ मसंग छैन् । जानकारबाट उत्तर खोज्दै छु किनकी मलाई एक दक्ष सहकारीकर्मी बन्न मन छ । खै किन हो कुन्नी मलाई समस्या पहिचान हुनुमा खासै महत्व लाग्दैन, तर ती समस्याको समाधान हुनुमा गर्व लाग्छ । त्यसैले मैले कार्यक्रम कतिवटा गरे र के कस्तो कार्यक्रम गरे भन्नु सफलता होइन् नतिजा के ल्याईयो भन्ने चाहि सफलता हो भन्ने मेरो बुझाई छ, तर सफलताको खोजी गर्दा गर्दै म कता अल्मलिय मलाई नै थाहा छैन । त्यसैले आज यो भूलभुलैयामा अल्मलिएको मेरो मनले जवाफ खोज्दैछ खै मैले सहकारी के बुझें ?, खै सहकारी अभियान मैले के बुझें ?
दाहाल बागती प्रोस्कूनका प्रमुख कार्यकारी अधिकृत हुन्
Comment