लघुवित्तलाई सुधार गर्न राष्ट्र बैंकले आफ्नो नीति परिवर्तन गर्नुपर्छ « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
३ मंसिर २०८३, बिहिबारThursday, November 19, 2026

अर्थतन्त्र

लघुवित्तलाई सुधार गर्न राष्ट्र बैंकले आफ्नो नीति परिवर्तन गर्नुपर्छ

यो समाचार सुन्नुहोस्अडियो तयार हुँदैछ, केही मिनेटपछि फेरि हेर्नुहोस्


यतिबेला नेपालमा हरेक व्यवसायप्रति आम मानिसको हेराइ र बुझाइ गलत भएको हो कि जस्तो लाग्छ । हरेक व्यवसायप्रति गलत धारणाको विकास भइरहेको छ । मैंले यहाँ ठ्याक्कै जोड्न खोजेको कुरा चाहीं लघुवित्त क्षेत्रको हो । मानिसहरुले लघुवित्त र सहकारी क्षेत्रलाई एउटै हो भनेर बुझिरहेका छन् । त्यसो होइन, बुझाइ गलत भयो । होला, माइक्रोफाइनान्स(लघुवित्त)भित्र विकृति पनि छ । तर जसले साँचो रुपमा सामाजिक, आर्थिक विकास गर्ने उद्देश्यकासाथ संस्था खडा गरेको छ, त्यसले समाजमा साच्चिकै पारदर्शी भूमिका खेलेको छ । लघुवित्तले समाजमा ठूलो परिवर्तन ल्याइरहेका छन् । कुनैपनि एउटा सानो किसानले कालिमाटीबाट एकसय रुपैयाँको तरकारी ल्याएर एकसय ५० मा बागबजारमा बेच्नसक्छ भने त्यसले उसको जीवनमा परिवर्तन ल्याउँछ । मेरो उद्देश्य पनि त्यही हो, यस्तै हुनुपर्छ भन्ने हो । सामाजिक र आर्थिक परिवर्तनमा लघुवित्तको भूमिका कमजोर ठान्नु हुँदैन् ।

तर हिजोआजको ताजा अवस्था त्यस्तो छैन् । गाउँको गरिब किसानको आर्थिक पहुँच छैन् । जसका कारण ठूलो समस्या भइरहेको छ । अन्य केही उपाय छैन् तर तरकारी बिजनेस गर्छु भन्योभने एक लाख रुपैयाँ बैंकले दिन मान्दैन् । तर माइक्रोफाइनान्सले दिन्छ । इन्सुरेन्सको व्यवस्था समेत गरिदिएको छ । फाइनान्सियल टुल्सका रुपमा राष्ट्र बैंकको अवधारणामा आएको माइक्रोफाइनान्स नै हो । अहिले यसमा लगभग झण्डै दुई लाख ५० हजार सदस्य छन् । त्यो भनेको झण्डै नेपालको राष्ट्रिय पार्टी जस्तै हो । त्यसको ( मातृभूमि लघुवित्त वित्तीय संस्था)को म अध्यक्ष छु । सदस्यहरुमा सामाजिक र आर्थिक वाहक बनेर शक्ति दिने काम गरिरहेका छौं । मर्दापर्दादेखि लिएर जीविकोपार्जन गर्नसम्मको लागि सहयात्रीको रुपमा काम गरेका छौं ।

हुनत संसारभरी नै माइक्रोफाइनान्स वा फाइनान्स क्षेत्र अप्ठ्यारोमा छन् । त्यसमाथि पनि नेपालको आर्थिक क्षेत्रपनि संकटमा छ । तर माइक्रोफाइनान्स भनेको बैंकिङ्ग क्षेत्रभन्दा धेरै फरक छ । आर्थिक र सामाजिक रुपमा पनि चुनौती छ । यदी नेपालमा लघुवित्त हुँदैनथ्यो भने वास्तवमा ग्रामीण अर्थतन्त्र आजको अवस्थामा पुग्ने थिएन् । नेपालको गरिबी निवारणमा बैंकिङ्ग पहुँचमा वा आर्थिक विकासमा माइक्रोफाइनान्सको महत्वपूर्ण भूमिका छ । यदी त्यो हुँदैनथ्यो भने आजको यो सफलता प्राप्त गर्न सकिदैन थियो । नेपालमा बचत गर्ने बानी जुन विकास भएको छ त्यो माइक्रोफाइनान्सले नै स्थापित गरेको हो । बचत गरिसकेपछि बचतलाई पनि आर्थिक उपार्जनसँग जोडेर अघि बढाउने काम माइक्रोफाइनान्सले गरेको हो । हामी लघुवित्त संचालकहरुले लोनमात्र दिइरहेका छैनौं, त्यसको उपयोगिता पनि पहिल्याउने काम गरेका छौं ।

कुनै किसानले लोन लियो र बाख्रा पालन गर्छौं भन्यो भने लोन पाएको छ । १५ प्रतिशत भन्दा बढी चार्ज लिएको छैनौं । तर निशुल्क भेटनरी डाक्टर सेवा उपलब्ध गराएका छौं । किनकी जनावरको स्वास्थ्य अवस्था के छ भनेर हेर्न डाक्टरको भूमिका महत्वपूर्ण छ । त्यतिमात्र नभएर यो हाम्रो सामाजिक दायित्व पनि हो । किनभने हामी बैंक होइनौं । लिने मात्र होइन दिनुपर्छ भन्ने भावना हामीमा छ । यतिबेला विकृतिको कुरा गर्ने हो भने पहिलो कुरा संस्था आफैं कार्यशैलीमा सुधार पनि गर्नुपर्छ भन्ने हाम्रो मानसिकता हुनुपर्छ ।

विकृतिको सुरुवात त मान्छेबाटै हुन्छ र मान्छेबाट नै सुधार गर्नुपनि पर्छ । संस्थाले गरेको छ भने संस्थाबाट नै सुरु गर्नुपर्छ । राष्ट्र बैंक र सरकारबाट गर्नैपर्ने सुधारहरु पनि धेरै छन् । र सर्वसाधारणले गर्नुपर्ने सुधारहरु पनि छन् । उहाँहरुको पनि आचरण, व्यवहार, शैली र आफ्नो आर्थिक सहयोगको बारेमा गर्नुपर्ने वास्तविक ज्ञान र सुधार गर्नपर्छ ।

अब संस्थाले के सुधार गर्न पर्यो भन्ने कुरा आउला, यसका विभिन्न क्षेत्रहरु छन् । नेपालको सम्पूर्ण बैङ्गिक क्षेत्रमा सबैभन्दा धेरै र छोटो समयमा मर्जरको बाटो रोज्ने हामी नै हौं । मेरै नेतृत्वमा भएको छ । सातवटा लघुवित्त, तीनवटा फिन्गो गरेर १० वटा संस्थाको अहिले पनि नेतृत्व गर्छु । धेरैवटा संस्था मर्ज गर्नेमा ग्लोबल आइएमई बैंक पर्छ । तर छोटो समयमा धेरैवटा गर्नेमा हामी पर्छौ । मेरो नेतृत्वमा त्यो सफल भएको छ ।

यसरी धेरैवटा संस्था मर्ज गर्दा के अनुभव भयो भन्दा संस्थाको कमजोरीहरु पत्ता लाग्यो । कर्पोरेट गभर्नेन्स(वित्तिय अनुशासन)मा हामीले सुधार गर्नुपर्नेछ । कर्पोरेट गभर्नेन्सका सवालमा हतारमा सम्झौता गरिहाल्ने परिपाटी छ । कहिलेकाही बाध्यता पनि हुनसक्छ । यस्तो भनेको फिल्ड सहायक, ब्रान्च म्यानेजर, सिइओ र बोर्डका सदस्यहरुसम्म आईपर्छ । तर माइक्रोफाइनान्समा बोर्डका मान्छेहरुको धेरै सानो मात्र भूमिका रहन्छ । लोन दिने र लिने कुरामा हाम्रो भूमिका रहँदैन् ।

भूमिका नभएता पनि कर्पोरेट गभर्नेन्स राम्रो राख्ने कुरामा हाम्रो भूमिका हुन्छ । आफैं सुशासनमा बसेर काम गर्ने हो भने तल केही पनि बिग्रिदैँन् । सुशासनको कुरामा सञ्चालक तहमा नै कमजोरी छ । ठूलो कमजोरी ब्रान्च र त्यहाँका मान्छेहरुले गलत नियतले लोन वितरण गरिरहेका छन् । ग्राहकलाई लोनका लागि लोन दिने मात्र काम भएको छ । राम्रो तरिकाले काम नहुने र सम्झौता हुने गरेको छ । संस्थागत सुशासन तलदेखि माथिसम्म गर्नुपर्ने छ । धेरै संस्थामा यस्तैखाले समस्या छ । धेरै कुराको चुनौति संस्थाभित्र छ ।

माइक्रोफाइनान्स भनेको बैंक हो, सहकारी होइन् भन्ने कुरामा अन्योलता सरकारले नै सिर्जना गरिदिएको छ । माइक्रोफाइनान्स बैंकिङ् सेवा हो भन्ने बुझाइमा एकरुपता भएन् । जे गरेपनि हुन्छ भन्ने जस्तो भयो । हाम्रा ग्राहक भनेका गरिब, किसान र महिला हुन् । तर त्यसका लागि सरकारको फण्ड माइक्रोफाइनान्समार्फत च्यानलिङ् भएको छैन् । त्यो सबै दुरुपयोग भएको छ, अर्बौको फण्ड दुरुपयोग भएको छ ।

माइक्रोफाइनान्सको समस्या के छ भने महंगोमा बैंकबाट लिनुपर्ने वाध्यता छ । कुनै बेला १०, १२, १५, १६ प्रतिशतसम्म बैंकले चार्ज गर्ने गरेको थियो । अहिले पनि ९ प्रतिशत चार्ज लाग्छ । अब हामीले पनि त्यो भन्दा कममा दिन सक्दैनौ नि । अहिले राष्ट्र बैंकले २ प्रतिशतमा पैसा उठाई रहेकोछ । दुई प्रतिशतमा बैंकले उठाएर माइक्रोफाइनान्सलाई ३ प्रतिशतमा दिने हो भने माइक्रोफाइनान्सले ६ प्रतिशतमा जनतालाई दिने हो भने त ठूलो योगदान हुन्छ ।

यतिबेला हामीले उठाइरहेको मुद्दा भनेको मर्जन नीतिमा परिमार्जन गर्नुपर्यो भन्ने हो । माइक्रोफाइनान्सहरुको मर्ज माइक्रोफाइनान्ससँग मात्र नभएर बैंकसँग पनि हुनुपर्छ भन्ने हो । आइटी कम्पनीसँग पनि हुनुपर्यो र पीएसपीसँग हुनुपर्यो भन्ने हो । दोस्रो कुरा भनेको माइक्रोफाइनान्सलाई बैंकको रुपमा चिनाउन राष्ट्र बैंकले पहल गर्नुपर्छ र नीतिगत तहमा पनि त्यसमा काम गर्नुपर्छ भन्ने हो । कष्ट अफ फण्ड कम गर्नुपर्यो ताकि जनतालाई १५ प्रतिशत होइन १० प्रतिशतमा कसरी झार्ने भन्ने हुनुपर्यो । तेस्रो कुरा भनेको आधुनिक प्रवृत्तिको समयमा माइक्रोफाइनान्समा प्रविधिको एकदमै जरुरी छ । त्यसको लागि एउटा प्रविधिमैत्री बनाउनुपर्छ । त्यसको लागि राष्ट्र बैंककै ठूलो भूमिका रहन्छ । राष्ट्र बैंकले यसलाई नीति र नियमहरुमा तर्जुमा गर्नैपर्छ ।
उदाहरणका लागि लोन लिंदा अनलाइनबाट मिल्दैन् । प्रत्यक्ष उपस्थित भएर तमसुकमा ल्याप्चे लगाउनैपर्छ । ल्याप्चेको कुरा हटाएर ओटीभी, पासपोर्ट लगायतका विधिहरु प्रयोग गर्नुपर्छ । ग्राहकले घरबाटै बसेर काम गर्न सकोस भन्ने मानसिकतामा काम गरिनुपर्छ । यसबाट पनि माइक्रोफाइनान्सको कष्ट घट्छ । त्यो कष्ट घट्नु भनेको हामीले दिने लोनमा कर घट्छ, यो कर घट्नु भनेको जनता सहयोग हुनु हो । यस्ता नीतिहरुमा परिवर्तन गर्नको लागि राष्ट्र बैंकलाई भनेका छौ र यसमा राष्ट्र बैंक पनि सकरात्मक देखिन्छ ।

यहाँ विभेदको कुरा पनि गर्न जरुरी छ । हरेक क्षेत्र विभेद अझै कायम छ । मैंले पनि विभेद जन्मेदेखि नै भोग्दै आएको छु । व्यवसायमा पनि सोही किसिमको विभेद कायम छ । सुरुमा काठमाडौं आउँदा पढाइमा जुम्लेली भनेर विभेद गर्ने, त्यसपछि विदेश गएपछि नेपाली गरिब देशका हुन भनेर विभेद गर्ने प्रचलन कायमै छ । व्यवसाय गर्छु भनेर नेपाल आएँ तर मान्छेहरुले विभेदको दृष्टिले हेरिरहेका छन् । म सँग पैसा आकाशबाट आएकोजस्तो गरेर व्यवहार गरिरहेका छन् ।

हुँदा हुँदा सेक्टरमा पनि विभेद भोगिरहेका छौं । जनतामा बैंकबाट लिएको कर्जा तिर्नुपर्छ भन्ने छ तर सहकारी र माइक्रोफाइनान्सबाट लिएको कर्जा तिर्नु पर्दैैन भन्ने सोच छ । यो पनि विभेद नै हो । वास्तवमा कर्जा भनेको जसबाट लिएपनि तिर्नुपर्छ । यतिबेला हामीले १२–१३ अर्ब पैसा परिचालन गरिरहेका छौ । त्यसमध्ये करिब साढे चार अर्ब पैसा गाउँमा रहेका एकदमै गरिवको पैसा डिपोजिट भएको छ । जसको कूल सम्पत्ति बेच्यो भने पाँच लाख पैसा पनि आउँछ कि आउँदैन् । उसले ५० हजार हामी कहाँ डिपोजिट गरेको छ । उनीहरुको ५० हजार डुब्नु भनेको धेरै डुब्नु हो । तरपनि जनतामा विभेदकारी व्यवहारहरु भइरहेका छन् । लघुवित्त भनेका पनि बैंक नै हुन्, यो बैंक डुब्नु भनेको धेरै गरिबहरु डुब्नु हो ।

त्यसैले हामी सबैले वित्तिय अनुशासन कायम राख्नुपर्छ । संसारमा फाइनान्सियल अनुशासन व्यक्तिमा छैन् भने त्यो व्यक्ति पनि राम्रो हुन सकेको पाइँदैन् । अनुशासन संस्थामा छैन भने संस्था राम्रो हुन सक्दैँन् । राज्यमा छैन् भने राज्य पनि राम्रो हुन सक्दैँन् । त्यसैले सबैले वित्तिय अनुशासन कायम राखौं ।

( मातृभूमि लघुवित्त वित्तीय संस्था लिमिटेडका अध्यक्ष एवम सामाजिक उद्यमी लोकराज शर्मासँग गरेको कुराकानीमा आधारित)

प्रकाशित : २६ माघ २०८१, शनिबार १८:२७ 8 February, 2025 6:27 pm

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।