पाँच विकास बैंक र ३ फाइनान्स कम्पनी राष्ट्र बैंकको कारबाहीमा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बिशेष

पाँच विकास बैंक र ३ फाइनान्स कम्पनी राष्ट्र बैंकको कारबाहीमा



काठमाडौं । नेपाल राष्ट्र बैंकले पाँचवटा विकास बैंक र तीनवटा फाइनान्स कम्पनीलाई कारबाही गरेको छ । आर्थिक वर्ष २०८०/०८१ को चौथो त्रयमास अवधिमा इजाजतपत्रप्राप्त ख वर्गका विकास बैंक र ग वर्गका वित्त कम्पनी तथा संस्थाका अध्यक्ष सञ्चालक र प्रमुख कार्यकारी अधिकृतलाई नेपाल राष्ट्र बैंक वित्तीय संस्था सुपरीवेक्षण विभागले कारबाही गरेको हो । केन्द्रिय बैंकको वित्तीय संस्था सुपरिवेक्षण विभागले ६ वटा विकास बैंक र ३ वटा फाइनान्स कम्पनीलाई कारबाही गरेको हो ।

राष्ट्र बैंकले कर्णाली विकास बैंक, नारायणी डेभलपमेन्ट बैंक, कर्पोरेट, सिन्धु विकास र एक्सेल डेभलपमेन्ट बैंकलाई कारवाही गरेको हो । गत आर्थिक वर्ष २०८०/८१ को चौंथो अवधिमा ती बैंक तथा वित्त कम्पनीका अध्यक्ष, संचालक र प्रमुख कार्यकारी अधिकृतलाई कारवाही गरिएको केन्द्रिय बैंकले जनाएको छ ।

राष्ट्र बैंकले सिन्धु विकास बैंकका अध्यक्ष राजेन्द्र कुमार श्रेष्ठलाई कारवाही गरेको हो । राष्ट्र बैंकबाट जारी भएको एकीकृत निर्देशन विपरित काम गरेको भन्दै अध्यक्षलाई ५ लाख रुपैयाँ नगद जरिवाना गरेको छ। यस्तै, पुँजी कोषको अनुपात ३२.०९ प्रतिशत अपुग भएको भन्दै सिन्धु विकासलाई कारवाही गरिएको राष्ट्र बैंकले जनाएको छ।

यस्तै, अनिवार्य मौज्दात सीमामा नराखेको भन्दै कर्णाली डेभलपमेन्ट बैंकलाई पनि कारवाही गरेको हो । कर्णालीलाई २ हजार ५४६ रुपैयाँ जरिवाना गरिएको राष्ट्र बैंकले जनाएको छ।

राष्ट्र बैंकका अनुसार समयमै बैंक वासलात नुबुझाएको भन्दै कर्पोरेट डेभलपमेन्ट बैंकलाई पनि सचेत गराइएको छ । यता, नारायणी डेभलपमेन्ट बैंक पनि शीघ्र संस्था सुधारात्मक कारवाहीमा परेको छ । यसअघि पनि बैंकले सोही कारवाही गरेको थियो । त्यसलाई निरन्तरता दिइएको केन्द्रिय बैंक ले जनाको छ ।

त्यसैगरि समयमै लेखापरीक्षण नगराएको तथा वासलात नबुझाएको भन्दै एक्सेल डेभलपमेन्ट बैंक पनि कारवाहीमा परेको छ । एक्सेललाई सचेत गराइएको हो ।

यस्तै, बेष्ट फाइनान्स , रिलायन्स फाइनान्स र प्रोग्रेसिभ फाइनान्सलाई पनि राष्ट्र बैंकको कारवाहीमा परेका छन् । यद्यपि, यी तीनै वटा वित्त कम्पनीलाई भने सचेत मात्रै गरेको राष्ट्र बैंकले जनाएको छ ।

प्रकाशित : २ श्रावण २०८१, बुधबार २१:११