पुँजी बजार सुस्ताउँदा, सरकारले पाउने पुँजीगत लाभकर ४.६७ प्रतिशतले घट्याे « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

पुँजी बजार सुस्ताउँदा, सरकारले पाउने पुँजीगत लाभकर ४.६७ प्रतिशतले घट्याे



काठमाडौं । चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो महिना (साउन)मा सरकारले सेयर बजारबाट पाउने पुँजीगत लाभकरमा कमी आएको छ । साउन महिनामा पुँजीगत लाभकरमार्फत ४० करोड ८ लाख ९१ हजार ७८६ रुपैयाँ उठेको छ । जुन अघिल्लो आवको सोहि अवधिको तुलनामा ४.६७ प्रतिशतले कम हो ।

अघिल्लो आवको साउनमा सेयर लगानीकर्ताले ४२ करोड ६ लाख ४३ हजार ४६४ रुपैयाँ पुँजीगत लाभकर सरकारलाई तिरेका थिए । लगानीकर्ताले सेयर कारोबारमा नाफा कमाएपछि नै सरकारलाई कर तिर्ने हो । तर यस अवधिमा भने सेयर बजारमा आएको गिरावटले सरकारले पाउने पुँजीगत लाभकरमा पनि ह्रास आएको छ ।

गत साउनमा अघिल्लाे साउन महिनाको तुलनामा संस्थागत लगानीकर्ताबाट उठ्ने कर बढेको छ भने व्यक्तिगत अल्पकालीन र व्यक्तिगत दीर्घकालीन लगानीकर्ताबाट उठ्ने कर घटेको छ । आव २०७९/८० को साउनमा सरकारले व्यक्तिगत अल्पकालीन लगानीकर्ताबाट २५ करोड १३ लाख १२ हजार ७३८ रुपैयाँ पुँजीगत लाभकर पाएको थियो । चालु आवको सोही अवधिमा यस्तो कर घटेर २२ करोड ४७ लाख १२ हजार २६७ रुपैयाँमा सिमित बनेको छ ।

यस्तै दीर्घकालीन लगानीकर्ताबाट गत आवको साउन मसान्तसम्म राज्यले १४ करोड ७२ लाख ७७ हजार ६७ रुपैयाँ पुँजीगत लाभकर पाएको थियो । चालु आवको साउन मसान्तसम्ममा १० करोड १५ लाख ८५ हजार ४५६ रुपैयाँ मात्रै पुँजीगत लाभकर संकलन गरेको छ ।

संस्थागत लगानीकर्ताले गत आवको साउन मसान्तसम्म राज्यलाई २ करोड २० लाख ५३ हजार ६५८ रुपैयाँ पुँजीगत लाभकर तिरेका थिए । चालु आवको सोही अवधिमा संस्थागत लगानीकर्ताले ७ करोड ४५ लाख ९४ हजार ६२ रुपैयाँ पुँजीगत लाभकर तिरेका छन् ।

अहिले दीर्घकालीन कारोबारीले ५ प्रतिशत र अल्पकालीन लगानीकर्ताले ७.५ प्रतिशत पुँजीगत लाभकर तिर्ने गरेका छन् । सेयर किनेको एक वर्षपछि बिक्री गरिन्छ भने त्यो दीर्घकालीन सेयर कारोबारमा गणना हुने गर्दछ । यस्तै, सेयर किनेको १ वर्षभित्र नै बिक्री गरिन्छ भने त्यो अल्पकालीन सेयर कारोबारमा पर्दछ ।

प्रकाशित : ५ भाद्र २०८०, मंगलवार १३:४८