धान चामलमा आत्मनिर्भर हुने दिशामा योगदान गरौं : प्रधानमन्त्री « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

धान चामलमा आत्मनिर्भर हुने दिशामा योगदान गरौं : प्रधानमन्त्री



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले धान–चामलमा आत्मनिर्भर हुने दिशामा योगदान गर्न आह्वान गरेका छन्। २०औँ राष्ट्रिय धान दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री दाहालले जलवायु अनुकूलित धानका जात र उत्पादन प्रविधिहरुको विकास र अवलम्बनमार्फत दिगो रुपमा धान उत्पादन बढाएर आयात प्रतिस्थापन गरी धान–चामलमा आत्मनिर्भर हुन् दिशामा योगदान गर्न आह्वान गरेका हुन्।

‘देशमा धानको उत्पादन बढाउन सरकारले सिँचाइ सुविधाको विस्तार, रासायनिक मल तथा बीउमा अनुदान, प्रविधि विस्तार, अनुसन्धान र विकास तथा न्यूनतम समर्थन मूल्यको कार्यान्वयनजस्ता कार्यक्रम प्राथमिकताका साथ कार्यान्वयन गरेको भए पनि धानको बढ्दो माग पूर्ति गर्नका लागि आन्तरिक उत्पादन अपर्याप्त भएकाले धानचामल आयात बर्सेनि बढेको छ’, उनले भने।

प्रधानमन्त्री दाहालले पछिल्लो समय जलवायु परिवर्तनका कारण धान उत्पादनमा नकारात्मक असर बढ्दै गएकोमा चिन्ता व्यक्त गरेका छन्। ‘यथास्थितिमा धानको उत्पादन वृद्धिको लक्ष्य पूरा हुन कठिन हुने र यसले खाद्य सुरक्षामा नै प्रतिकूल असर पर्ने देखिएको छ’, सन्देशमा उल्लेख छ, ‘त्यस्तो अवस्था आउन नदिन जलवायु अनुकूलित धानका जात र खेती प्रविधिको विकास र कृषकस्तरमा प्रविधि हस्तान्तरणलाई अझै व्यवस्थित बनाउने र यसको गति बढाउन आवश्यक छ।’

धान दिवसका अवसरमा धानबालीको उत्पादन र उत्पादकत्व वृद्धि गरी समृद्ध अर्थतन्त्र निर्माणमा केन्द्रित हुन प्रधानमन्त्री दाहालले देशवासीलाई अनुरोध गरेका छन्।

प्रकाशित : १५ असार २०८०, शुक्रबार १२:४४