सवारी साधन दर्ता प्रक्रियाका सम्बन्धमा काठमाण्डौ जिल्ला प्रशासन कार्यालय र नाडाविच छलफल « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

सवारी साधन दर्ता प्रक्रियाका सम्बन्धमा काठमाण्डौ जिल्ला प्रशासन कार्यालय र नाडाविच छलफल



काठमाडौं। नेपाल अटोमोबाइल्स एसोसिएसन ९नाडा० ले चाडपर्व नजिकिँदै गर्दा सवारीसाधन दर्तामा देखिएका समस्याको समाधानका लागि पहल थालेको छ। नाडाका महासचिव मिलनबाबु मल्लको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले काठमाडौंका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलसँग भेट गरी सवारीसाधन दर्ताका क्रममा देखिएका समस्या र समाधानका उपायबारे छलफल गरेको हो।

बुधबार भएको भेटमा नाडाका महासचिव मल्लले चाडपर्वको समय नजिकिँदै जाँदा यातायात व्यवस्था कार्यालयहरूमा सवारीसाधन दर्तासम्बन्धी कामको चाप बढेको जानकारी गराएका थिए।

कार्यालयमा उपलब्ध जनशक्ति सीमित हुँदा सेवाग्राही तथा अटोमोबाइल कम्पनीका प्रतिनिधिहरूको काम समयमै सम्पन्न गर्न कठिनाइ भइरहेको उनले बताएका थिए।

कम्पनीका प्रतिनिधिहरूले आफ्ना कम्पनीका तर्फबाट आवश्यक कागजात पेस गर्ने तथा सवारीसाधन दर्तासम्बन्धी प्रक्रियामा सहजीकरण गर्दै आए पनि कार्यालयको नियमित प्रक्रिया र कर्मचारीको कार्यचापका कारण दर्तासम्बन्धी काम सम्पन्न गर्न अपेक्षाकृत बढी समय लाग्ने गरेको नाडाले जनाएको छ।

मल्लले उक्त समस्या समाधानका लागि तत्काल आवश्यक सहयोग र समन्वय गरिदिन प्रमुख जिल्ला अधिकारी पौडेलसमक्ष आग्रह गरेका थिए।

छलफलका क्रममा नाडाका सचिव तथा टू–ह्विलर समितिका सभापति मेघराज पौडेलले असोज ८ गते यातायात व्यवस्था कार्यालयका प्रमुख राजन पोखरेलसँग नाडा प्रतिनिधिले भेट गरी सवारीसाधन दर्तामा देखिएका समस्याबारे छलफल गरिसकेको जानकारी गराएका थिए।

भेटका क्रममा प्रमुख जिल्ला अधिकारी पौडेलले सवारीसाधन दर्तासम्बन्धी समस्या समाधानका लागि सम्बन्धित यातायात व्यवस्था कार्यालयहरूसँग छलफल तथा आवश्यक समन्वय गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

उक्त भेटघाटमा नाडाका केन्द्रीय कार्यसमिति सदस्य विमल साह तथा नाडा टू–ह्वीलर समितिका सदस्यद्वय योगेन गुरुङ र दीपक रौनियारको समेत उपस्थिति रहेको थियो।

नाडाले चाडपर्वका बेला सवारीसाधनको माग तथा दर्ता प्रक्रिया बढ्ने भएकाले यातायात व्यवस्था कार्यालयमा सेवा प्रवाह सहज बनाउन आवश्यक समन्वय र व्यवस्थापनमा जोड दिँदै आएको छ।

प्रकाशित : 3 October, 2026 9:06 pm