११ महिनामा नेपालको आयात निर्यात दुवै घट्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

११ महिनामा नेपालको आयात निर्यात दुवै घट्यो



काठमाडौं । नेपालले ११ महिनामा पौने १५ खर्बको आयात गरेको छ । भन्सार विभागले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०७९/८० को जेठ मसान्तसम्मको तथ्याङ्कले यस्तो देखाएको हो ।

विभागका अनुसार चालु आवको ११ महिनामा नेपालले १४ खर्ब ८० अर्ब ९८ करोड ११ लाख रुपैयाँ बराबरको आयात गरेको छ । समिक्षा अवधिमा १ खर्ब ४३ अर्ब ५८ करोड ६५ लाख रुपैयाँ बराबरबको निर्यात गरेको छ ।

सो अवधिमा आयात र निर्यात दुवै घटेको हो । समिक्षा अवधिमा आयात १६.०१ प्रतिशतले घटेको छ भने निर्यात २२.७४ प्रतिशतले घटेको छ । गत आवको जेठ मसान्तसम्ममा नेपालले कुल १७ खर्ब ६३ अर्ब २२ करोड ३० लाख रुपैयाँको आयात गरेको थियो । सो अवधिमा कुल वस्तु निर्यात भने १ खर्ब ८५ अर्ब ८३ करोड ६० लाख रुपैयाँ बराबरको थियो ।

आयात र निर्यात घटेपछि नेपालको वैदेशिक व्यापार पनि घटेको छ । यस अवधिमा नेपालको वैदेशिक व्यापार घाटा १५.२१ प्रतिशतले घटेको छ । योसंगै चालु आवको जेठ मसान्तसम्म आईपुग्दा व्यापार घाटा १३ खर्ब ३७ अर्ब ३९ करोड ४५ लाख रुपैयाँ कायम भएको छ। जुन गत आवको सोही अवधिमा भने १५ खर्ब ७७ अर्ब ३८ करोड ६० लाख रुपैयाँ रहेको थियो ।

समिक्षा अवधिमा कुल वैदेशिक व्यापार १६.६५ प्रतिशतले घटेर १६ खर्ब २४ अर्ब ५६ करोड ७६ लाख रुपैयाँ कायम भएको छ । जुन गत आवको जेठ मसान्तसम्ममा भने १९ खर्ब ४९ अर्ब ६ करोड रुपैयाँ रहेको थियो ।

प्रकाशित : ७ असार २०८०, बिहीबार २१:५०