‘एकल बिन्दुमा ब्याजदर सम्भव छैन, बैंकिङ क्षेत्रलाई चारैतर्फबाट आक्रमण भयो’ « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

‘एकल बिन्दुमा ब्याजदर सम्भव छैन, बैंकिङ क्षेत्रलाई चारैतर्फबाट आक्रमण भयो’



काठमाडौं । नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसीले  तत्काल एकल बिन्दुमा ब्याजदर कायम गर्न नसकिने बताएका छन् । बुधवार संघले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा उनले आर्थिक सूचकहरुमा देखिएको सुधारले बिस्तारै ब्याजदर घट्ने अवस्था देखिए पनि बैंकहरुले तत्काल एकल बिन्दुमा ब्याजदर कायम गर्नसक्ने अवस्था नदेखिएको बताए । 

पछिल्लो समय अर्थतन्त्रमा केही राम्रो हुने संकेत देखिए पनि बैंकहरु दबाबमा नै रहेको भन्दै केसीले उद्योगी व्यवसायीहरुबाट बैंकको ब्याजदर बढी भएको र ब्याजदर घटाएर एकल बिन्दुमा ल्याउन मागहरु आएपनि तत्काल ब्याजदर घटाउन सक्ने अवस्था नभएको बताए । 

अध्यक्ष केसीले बैंकहरुको सिडी रेसियो ८६.३९ प्रतिशत रहेको बताए । उनले भने, ‘यस्तै अवस्थामा जाने हो भने बैंकहरुमा तरलताको चाप नहुने अवस्था देख्छौं । तर अहिलको अवस्था अलि फरक रहेको छ । अहिले बैंकहरुको ८६.३९ प्रतिशत सिडी रेसियो छ । नेपाल बैंक र वाणिज्य बैंकलाई छाड्ने हो भने ८७ प्रतिशत भन्दा माथि रहेको छ । जुन किसिमले बैंकहरुमा निक्षेप र कर्जा बढेर जाने अवस्थालाई हेर्दा पर्ख र हेर गर्नुपर्ने परिस्थिति रहेको छ ।’ 

केसीले थपे, ‘जुन बेला केही सहज अवस्था देखियो, त्यो बेला बैंकहरु सबै मिलेर ब्याजदर घटायौं । सरकारको तरलतालाई सहज बनाउने नीति हेर्दा अझै पनि बैंकहरुमा तरलता चाप पर्ने देखिन्छ । पछिल्लो समय अर्थतन्त्रमा केही राम्रो हुने संकेत देखिरहेका छौं । तर पनि बैंकहरु दबाबमा नै रहेकाले सहजकता बन्नुपर्ने अवस्था रहेको छ । पछिल्लो समय विभिन्न खालमा मागहरु आइरहेको छ । जसमा बैंकको ब्याजदर बढी भयो । बैंकको ब्याजदर घटाएर एकल बिन्दुमा ल्याउनुपर्ने मागहरु रहेका छन् । अहिलेको अवस्थालाई हेर्दा बैंकहरुले कर्जाकोे ब्याजदर तत्काल घटाउन सक्ने अवस्था देखिँदैन ।’ 

केसीले बैंक वित्तीय संस्थामा खाता खोलेका चार करोड खातावालालाई संरक्षण दिन खोज्दा बैंक वित्तीय संस्थाबाट ऋण लिएका १८ लाख ऋणीले दबाब सिर्जना गरेको बताए । उनले अहिले नेपालमा मात्रै ब्याजदर बढेको नभएर भारतको केन्द्रीय बैंकले केही दिनअघि मात्रै शुन्य दशमलव २५ प्रतिशतले नीतिगत दर बढाएको बताए । 

केसीले बैंक वित्तीय संस्थाले आफ्नो पुँजीभन्दा कैयौं गुणा रकम सर्वसाधारणबाट लिएर कारोबार गरिरहेकाले ऋणीभन्दा पनि निक्षेपकर्तालाई प्राथमिकतामा राख्नुपर्ने अवस्था रहेको बताए । उनले बजारमा ऋणीको धेरै कुरा आएको तर निक्षेपकर्ताको विषयमा कुनै कुरा नआएको बताए । केसीले बैंकहरुले निक्षेपकर्ताको संरक्षणको विषयमा पनि सोच्नुपर्ने भएकाले अहिले बैंकिङ क्षेत्र पनि दबाबमा रहेको बताए । 

केसीले पछिल्लो समय अर्थतन्त्रमा केही सकारात्मक संकेत देखिए पनि अझै अर्थतन्त्र पूरै लयमा नभएको बताए । उनले अझै सजक हुनुपर्ने अवस्था रहेको भन्दै केन्द्रिय बैंकले मौद्रिक नीतिको समीक्षामा कुनै पनि दर संशोधन नगरेको बताए । ऋणीहरुले बैंकबिरुद्ध आन्दोलन गर्दा भविष्यमा बैंकिङ उद्योगलाई अफ्ठ्यारो पर्ने अवस्था आएको केसीको चिन्ता छ । 

उनले बैंकहरुले कोभिड महामारीको अवस्थामा पनि ९३ सय अर्ब निक्षेप राख्ने निक्षेपकर्ताहरुको हरेक दिनको ब्याज भनेको समयमा दिइरहेको पनि बताउँदै ऋणीहरुले बैंकबाट कर्जा लिएर उद्योग खोल्दा पनि उद्योगमा बैंकहरुको बढी पुँजी रहेको बताए । बैंकहरुको आग्रहमा राष्ट्र बैंकले साना तथा घरेलु व्यवसायीहरुलाई कर्जा बुझाउने समय थप गरेकाले केही सहजता ल्याउने केसीको विश्वास छ । 

उनले बैंकिङ क्षेत्रमा कोभिडको समयमा प्रवाह गरेको कर्जा समेत उठ्न नसकेकाले खराब कर्जाको अवस्था वृद्धि हुँदै गएको बताए । केसीले बैंकहरुको खराब कर्जाको अवस्था २.२४ प्रतिशत रहेको बताए । 

प्रकाशित : ३ फाल्गुन २०७९, बुधबार २०:२१