बीमाको पहुँचमा ४३.८९ प्रतिशत नागरिक, एक वर्षमा १३.१७ प्रतिशले बृद्धि « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बीमा

बीमाको पहुँचमा ४३.८९ प्रतिशत नागरिक, एक वर्षमा १३.१७ प्रतिशले बृद्धि



काठमाडौं । जीवन बीमाको पहुँच मंसिर मसान्तसम्ममा ४३.८९ प्रतिशत नागरिकमा पुगेको छ । बीमा प्राधिकरणका अनुसार गत आर्थिक वर्षको तुलनामा म्यादि, लघु म्यादी र बैदेशिक रोजगार जीवन बीमालेख सहित बीमाको पहुँच १३.१७ प्रतिशतले बढेको हो ।

गत आर्थिक वर्षको मंसिर मसान्तसम्ममा बीमाको पहुँच ३०.७२ प्रतिशत जनसंख्यामा पुगेको थियो । म्यादी, लघु म्यादी जीवन बीमालेख सहित पनि बीमाको पहुँच ३९.८७ प्रतिशत पुगेको नेपाल बीमा प्राधिकरणले जनाएको छ । गत आर्थिक वर्षका यसै अवधिमा म्यादी, लघु म्यादी जीवन बीमालेख सहितको यस्तो पहुँच २८.६७ प्रतिशत मात्रै रहेको थियो ।

त्यस्तै, यस अवधिसम्म जीवन तथा निर्जीवन बीमा कम्पनीहरुको कुल बीमाशुल्क भने २.६४ प्रतिशतले बढेर ७५ अर्ब ४९ करोड ४६ लाख रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको यहि अवधिमा जीवन तथा निर्जीवन बीमा कम्पनीहरुले ७३ अर्ब ५५ करोड ६३ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका थिए।

कुल जीवन बीमालेख संख्या पनि ४५.४० प्रतिशतले बढेर १ करोड ३९ लाख ८६ हजार ५०५ वटा पुगेको छ भने निर्जीवन बीमा कम्पनीहरूको बीमालेख संख्या भने ८.०९ प्रतिशतले घटेर ११ लाख ४७ हजार २६४ वटामा सीमित भएको छ ।

मंसिरसम्ममा बैदेशिक रोजगार बीमालेख संख्या १०४.७८ प्रतिशत र जीवन बीमालेख संख्या (म्यादी, लघु म्यादी र बैदेशिक रोजगार बीमाले सहित) ४१.३८ प्रतिशतले बढेर १ करोड २७ लाख ३६ हजार ७४३ वटा बीमालेख जारी भएको बीमा प्राधिकरणको तथ्यांक छ । गत आर्थिक वर्षको यहि अवधिमा जीवन बीमा कम्पनीहरुले ६ लाख १० हजार २९४ वटा बैदेशिक रोजगार बीमालेख बिक्री गरेका थिए ।

यस अवधिमा जीवन तथा निर्जीवनबीमा कम्पनीहरुका ३ हजार ३५८ वटा शाखा कार्यालयहरुमा ११ हजार ७१७ जना कर्मचारीहरु कार्यरत रहेका छन् ।

प्रकाशित : २४ पुष २०७९, आईतवार १४:१३