काठमाडौँ । लगानी बोर्डले तयार पारेको परियोजना बैंक निर्देशिका प्रधानमन्त्री एवं लगानी बोर्डका अध्यक्ष शेरबहादुर देउवाले सार्वजनिक गरेका छन् । सार्वजनिक–निजी साझेदारीमा कार्यान्वयन गरिने प्राविधिक र आर्थिक दृष्टिले सम्भाव्य लगानीयोग्य परियोजनाहरूको संग्रहको सूची तयार गर्ने उद्देश्यले फोरमको आयोजना गरिएको हो ।
लगानी बोर्डद्वारा आयोजित ‘सस्टेनेवल इन्फ्रास्ट्रक्चर इन्भेष्टमेन्ट फोरम-२०२२’ समुद्घाटनका क्रममा प्रधानमन्त्रीले लगानीकर्ता सहजीकरणका लागि तयार पारिएको वन स्टप सर्भिस (ओएसएस) डिजिटल सिस्टमको पनि शुभारम्भ गरेका छन् । उक्त डिजिटल प्लेटफर्ममार्फत् लगानीकर्ताले लगानीका विषयमा जानकारी तथा जिज्ञासा राख्न सक्ने र लगानी सहजीकरणसँग सम्बन्धित सबै निकायहरू आवद्ध भई शीघ्र र प्रभावकारी सेवा प्रदान गर्ने जनाइएको छ ।
उद्घाटन सत्रका अवसरमा, प्रधानमन्त्रीले नेपालमा रासायनिक मल कारखाना स्थापनाका लागि लगानी बोर्डद्वारा तयार पारिएको’Establishing a Fertilizer Plant in Nepal’ अध्ययन प्रतिवेदन सार्वजनिक गरे । उक्त अध्ययन प्रतिवेदनमा इलेक्ट्रोलाइसिस र प्राकृतिक ग्यासबाट मलकारखाना सञ्चालनको तुलनात्मक अध्ययन प्रस्तुत गरिएको छ ।
एसआइआइएफ २०२२ समुद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले लगानी बोर्डको कार्यालयले लगानी आकर्षण र सहजीकरणका लागि परिपक्व भूमिका निर्वाह गरेको भन्दै धन्यवाद व्यक्त गरे । उनले नेपालले सन् २०४५ सम्म शून्य कार्बन उत्सर्जनको लक्ष्य प्राप्तिका लागि साध्य र साधन तयार हुनुपर्ने बताउदै यस उद्देश्य प्राप्तिका लागि सहयोग बढाउन विकास साझेदारहरूलाई आह्वान गरे ।
लगानी बोर्डको कार्यालयको लगानी प्रवद्र्धनको मुख्य उद्देश्य सहित स्वदेश र विदेशमा यस्ता प्रवद्र्धनात्मक कार्यक्रमहरू, रोड शो, परियोजना स्वकेसिङ, लगानी सम्मेलन आयोजना गर्दै आएको छ ।
Comment