मौद्रिक नीतिले सेयर लगानीकर्तालाई ‘सेफ ल्यान्डिङ’ गर्ने बाटो खोल्नुपर्छ: अध्यक्ष गोल्छा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

मौद्रिक नीतिले सेयर लगानीकर्तालाई ‘सेफ ल्यान्डिङ’ गर्ने बाटो खोल्नुपर्छ: अध्यक्ष गोल्छा



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले साना तथा मझौला सेयर लगानीकर्तालाई मौद्रिक नीतिले ‘सेफ ल्यान्डिङ’ गर्ने बाटो खोल्नुपर्ने बताएका छन् ।

आइतबार महासंघले आर्थिक वर्ष २०७९/०८० को मौद्रिक नीतिमा सुझाव दिन आयोजना गरेको कार्यक्रममा अध्यक्ष गोल्छाले साना लगानीकर्ताले लगानी गर्दा सेयर बजार उतारचढाव हुने ठाउँ हो भन्ने जानकारी पनि थिएन, अहिले लगानीकर्ता समस्यामा परेका छन् । उनले यसका लागि सेफ ल्यान्डिङ हुने गरी मौद्रिक नीति आउनु पर्ने बताए ।

उनले नेपालमा एनआरएन मात्रै नभएर अन्य लगानीकर्तालाई पनि डलरमा बचत खाता खोल्ने व्यवस्था गर्न माग गरे । विदेशको तुलनामा नेपालको ब्याजदर उच्च रहेकोले निक्षेप आउने समेत उनले बताए । यस्तै भारतीय श्रमिकलाई पनि भारुमा बैंक खाता खोलेर निक्षेप राख्ने व्यवस्था गर्नसके रेमिट्यान्सको रुपमा भारत जाने ठूलो रकम बचत हुने उनको भनाई छ । उनले भने, ‘भारतीयले वार्षिक ४ खर्ब रेमिट्यान्स लगेका छन्’ ।

उनीहरुलाई नेपाली सरह भारतीय रुपैयाँमा बैंक खाता खोलेर निक्षेप राख्न सके पनि समस्या समाधान हुन सक्ने उनले बताए । अध्यक्ष गोल्छाले बजारमा देखिएको तरलता समस्या समाधान गर्न तरलता रेसियो २० प्रतिशतबाट १५ प्रतिशत बनाउनु पर्ने पनि उनको माग छ ।

प्रकाशित : २६ असार २०७९, आईतवार १६:५१