लुम्बिनी प्रदेशमा खाद्य तथा अन्य बालीले ढाकेको कुल क्षेत्रफल २.६४ प्रतिशतले वृद्धि « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

लुम्बिनी प्रदेशमा खाद्य तथा अन्य बालीले ढाकेको कुल क्षेत्रफल २.६४ प्रतिशतले वृद्धि



काठमाडौं । राष्ट्र बैकले लुम्बिनी प्रदेशको अर्ध–वार्षिक आर्थिक प्रतिवेदन तयार पारेको छ । शुक्रबार नेपाल राष्ट्र बैंकले जारी गरेको लुम्बिनी प्रदेश अन्तर्गतका १२ जिल्लाहरुको स्थलगत तथा गैरस्थलगत भ्रमण गरी प्रदेशको अर्धवार्षिक आर्थिक अध्ययन प्रतिवेदनमा कृषि क्षेत्रमा समीक्षा अवधिमा खाद्य तथा अन्य बालीले ढाकेको कुल क्षेत्रफल २.६४ प्रतिशतले वृद्धि भएको देखाएको छ ।

समीक्षा अवधिमा तरकारी बालीले ढाकेको क्षेत्रफल ३.८८ प्रतिशत र तरकारी उत्पादन २०.२८ प्रतिशतले घटेको छ भने फलफुल तथा मसला बालीले ढाकेको क्षेत्रफल गत अवधिको तुलनामा १२.०१ प्रतिशत र उत्पादन २६.०९ प्रतिशतले वृद्धि भएको छ ।


यस प्रदेशमा नवलपरासी पश्चिम जिल्लामा केराले ढाकेका भू–क्षेत्र विस्तार हुनुको साथै केरा उत्पादन १८०.६१ प्रतिशतले वृद्धि भएको छ । त्यसैगरी समीक्षा अवधिमा रुकुम पूर्व जिल्लामा मह उत्पादनमा भारी गिरावट आएको कारण समग्र मह उत्पादन ७०.११ प्रतिशतले घटेको छ । समीक्षा अवधिमा पशुपन्क्षी उत्पादन मध्ये दूध उत्पादन १२.६७ प्रतिशत, मासु १५.१९ प्रतिशत, अण्डा २५.२८ प्रतिशत, छाला २.१४ प्रतिशत र हाड उत्पादन ६.४५ प्रतिशतले वृद्धि भएको छ ।


समीक्षा अवधिमा बाँके जिल्लामा मत्स्य पालनको भू–क्षेत्रमा वृद्धि र २५०० भुरा प्रति कट्ठा राख्न मिल्ने पङ्गास जातको माछा समेतको व्यवसायिक उत्पादन सुरु भएको कारण समग्र माछा उत्पादन १८.८६ प्रतिशतले वृद्धि भएको छ । सामुदायिक वनमा कटान कार्य नभएको कारण वनजन्य उत्पादन अन्तर्गत काठ उत्पादन २०.५२ प्रतिशत, दाउरा २६.९५ र औषधीजन्य वस्तु उत्पादन २६.८५ प्रतिशतले घटेको छ । साथै कुल खेतीयोग्य क्षेत्रफलको २५.८१ प्रतिशत र खेती गरिएको क्षेत्रफलको ४४.१३ प्रतिशत हिस्सा सिंचित भएको छ ।

यस समीक्षा अवधिमा कृषि क्षेत्रमा प्रवाहित कृषि कर्जा २६.१५ प्रतिशतले वृद्धि भएको छ भने कुल प्रवाहित कृषि कर्जामा रुपन्देही जिल्लाको हिस्सा सबैभन्दा धेरै (४०.८८ प्रतिशत) र रुकुमपूर्व जिल्लाको हिस्सा सबैभन्दा कम (०.०४ प्रतिशत) मात्र रहेको छ ।

लुम्बिनी प्रदेशको उद्योग क्षेत्रमा

उद्योगहरुको औसत क्षमता उपयोग ५०.१८ प्रतिशत रहेको छ । नमुना छनौटमा परेका उद्योगहरुमध्ये आल्मुनियम उद्योगले शतप्रतिशत क्षमता उपयोग गरेको छ भने तोरीको तेल उद्योगलेसबैभन्दा कम ( २१.९३ प्रतिशत) क्षमता उपयोग गरेको छ । समीक्षा अवधिमा सिन्थेटिक कपडा, कागज, प्लाष्टिकका सामान, सिमेन्ट, कंक्रिट, फलामको छड तथा पत्ति, चाउचाउ र विजुलीको तार तथा केबुल उत्पादन बढेको छ भनेरोजिन र मदिरा उत्पादन घटेको छ ।


औद्योगिक क्षेत्रमा प्रवाहित कर्जा १४.०८ प्रतिशतले वृद्धि भएको छ भने कुल प्रवाहित कर्जामा रुपन्देही जिल्लाको हिस्सा सबैभन्दा धेरै (६२.६६ प्रतिशत) छ । रुकुमपूर्व जिल्लामा यस्तो हिस्सा सबैभन्दा कम (०.०४ प्रतिशत) रहेको छ ।


यस प्रदेशमा सेवा क्षेत्र

यस प्रदेशमा सेवा क्षेत्रमा समीक्षा अवधिमा पर्यटकस्तरीय होटल तथा लज संख्या १८.३० प्रतिशतले बढेको छ । यसैगरी, होटल तथा लज शैया संख्या, प्रत्यक्ष रोजगारी संख्या र अकुपेन्सीदर समेत बढेको छ भने भारतबाट १०,३५० र तेस्रो मुलुकबाट १,४१५ गरी जम्मा ११,७६५ पर्यटकको आगमन भएको छ ।


प्रदेशमा कुल घर तथा भवनको नक्सा पास संख्यामा सामान्य वृद्धि भएको छ भने रुपन्देही जिल्लाको हिस्सा सबैभन्दा धेरै ४७.२८ प्रतिशत र रुकुम पूर्व जिल्लामा शून्य रहेको छ । घरजग्गा रजिष्ट्रेशन संख्या २०.०३ प्रतिशतले ह्रास आएको भएतापनि सोवापत संकलन हुने राजस्व ८८.३० प्रतिशतले वृद्धि भएको छ ।


यस प्रदेशमा ‘क’ वर्गको ७२४, ‘ख’ वर्गको २४१, ‘ग’ वर्गको ४३ र ‘घ’ वर्गको ११५८ गरी कुल २१६६ वटा बैंक तथा वित्तीय संस्थाहरु मध्ये रुपन्देही जिल्लामा सबैभन्दा बढी ५३० वटा र रुकुमपूर्व जिल्लामा सबैभन्दा कम (१५ वटा शाखाहरु) सञ्चालनमा रहेका छन्।


यस प्रदेशमा बाणिज्य बैंकहरुको कुल शाखा रहित बैंकिङ्ग सेवा रुपन्देही जिल्लामा सवैभन्दा धेरै (३८.१२ प्रतिशत) रहेको छ भने रुकुमपूर्व जिल्लामा सबैभन्दा कम (०.३४ प्रतिशत) रहेको छ । समीक्षा अवधिमा यस प्रदेशमा कुल निक्षेप सामान्य वृद्धि भएको भएतापनि कर्जा प्रवाह १४.६२ प्रतिशतले वृद्धि भएको छ र कर्जा÷निक्षेप अनुपात १३३.३५ प्रतिशत रहेको छ ।
प्रवाहित कुल कर्जामा विपन्न वर्ग कर्जाको ८.८२ प्रतिशत, पुनरकर्जाको ४.२१ प्रतिशत र सहुलियतपूर्ण कर्जाको ५.६४ प्रतिशत हिस्सा रहेको छ । समीक्षा वर्षमा बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेप १८.४० प्रतिशतले वृद्धि भएको छ भने कुल कर्जा २३.५२ प्रतिशतले वृद्धि भएको छ ।


समीक्षा अवधिमा बचत तथा ऋण सहकारी संस्थाहरुको कुल पुँजी, बचत परिचालन, कुल ऋण प्रवाह र सदस्य संख्या समेत बढेको छ । समीक्षा अवधिमा कुल सवारी साधनको संख्या ९.८६ प्रतिशतले वृद्धि भई १० लाख २२ हजार ४०५ पुगेको छ । समिक्षा अवधिमा परिवत्र्य विदेशी मुद्रा खरिद ६७.५७ प्रतिशतले घटेको छ भने सिद्धार्थनगर कार्यालयबाट भारतीय मुद्राको विक्री कार्य घटाइएको छ ।

प्रकाशित : १७ असार २०७९, शुक्रबार १६:११