बैतडीमा डिलासैनी गाउँपालिकाे बेरुजु सबैभन्दा बढी, नगरपालिकालाई पनि उछिन्याे « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

बैतडीमा डिलासैनी गाउँपालिकाे बेरुजु सबैभन्दा बढी, नगरपालिकालाई पनि उछिन्याे



बैतडी । बैतडीका स्थानीय तहमा प्रत्येक वर्ष बेरुजु रकम बढ्दै गएको छ । यहाँका १० स्थानीय तहको बेरुजु रकम साढे ३२ करोड रहेकाे महालेखा परीक्षकको कार्यालयकाे वार्षिक प्रतिवेदनमा उल्लेख छ । 

५८ औँ वार्षिक प्रतिवेदन अनुसार बैतडीका स्थानीय तहमा सबैभन्दा बढी बेरुजु डिलाशैनी गाउँपालिका र सबैभन्दा कम बेरुजु पाटन नगरपालिकाको छ । 

डिलासैनीको ८६ करोड ४१ लाख ७९ हजार रुपैयाँको लेखा परीक्षण गर्दा ५ करोड २० लाख २२ हजार रकम बेरुजु छ । यो लेखा परीक्षण गरिएको ६ दशमलव २ प्रतिशत बेरुजु हो ।

पाटनको १ अर्ब २० करोड ३८ लाख ३० हजार रुपैयाँको लेखापरीक्षण गर्दा १ करोड ७२ लाख ३६ हजार रुपैयाँ बेरुजु छ । यो लेखा परीक्षण गरेको रकमको १ दशमलव ४३ प्रतिशत हो । 

गाउँपालिकामध्ये सबैभन्दा कम बेरुजु हुने दोगडाकेदारको छ । दोगडाकेदारमा १ अर्ब  २ करोड ७१ लाख ३२ हजार रुपैयाँको लेखा परीक्षण गर्दा २ करोड २७ लाख ७९ हजार बेरुजु देखिएको छ । 

दशरथचन्द नगरपालिकाको १ अर्ब ४० करोड ८१ लाख ४३ हजारको लेखा परीक्षण गर्दा ४ करोड ५५ लाख १ हजार बेरुजु छ । सिगास गाउँपालिकामा ३ दशमलव ८९ प्रतिशत बेरुजु देखिएको छ । ८७ करोड ९९ लाख १५ हजारको लेखा परीक्षण गर्दा ३ करोड ४२ लाख ५८ हजार बेरुजु देखिएको हाे । 

शिवनाथ गाउँपालिकामा पनि ५९ करोड ८८ लाख ५८ हजारको लेखापरीक्षण गरिएकोमा ४ दशमलव ८४ प्रतिशत अर्थात २ करोड ९० लाख १२ हजार बेरुजु देखिएको छ ।

पञ्चेश्वर गाउँपालिकाको पनि ४ दशमलव ५१ प्रतिशत अर्थात् ३ करोड ३६ लाख ६६ हजार रुपैयाँ बेरुजु छ । सुर्नया गाउँपालिकाको ३ करोड ९८ लाख २६ हजार, पुर्चौडी नगरपालिकाको ३ करोड ४६ लाख ७२ हजार, र मेलौली नगरपालिकाको १ करोड ७३ लाख ३५ हजार बेरुजु छ ।

प्रकाशित : १६ आश्विन २०७८, शनिबार ०९:२५