काठमाडौंका विभिन्न क्षेत्रमा बिहान १०ः३० देखि दिउँसो ४ बजेसम्म बिजुली बन्द हुने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
३ मंसिर २०८३, बिहिबारThursday, November 19, 2026

अर्थतन्त्र

काठमाडौंका विभिन्न क्षेत्रमा बिहान १०ः३० देखि दिउँसो ४ बजेसम्म बिजुली बन्द हुने

यो समाचार सुन्नुहोस्अडियो तयार हुँदैछ, केही मिनेटपछि फेरि हेर्नुहोस्

काठमाडौं । काठमाडौंका विभिन्न क्षेत्रमा विद्युत् वितरण प्रणाली भूमिगत गर्ने कामका कारण मंसिर ३ देखि १४ गतेसम्म दैनिक साढे पाँच घण्टा विद्युत् आपूर्ति बन्द हुने भएको छ।

नेपाल विद्युत् प्राधिकरणले कुलेश्वर र बानेश्वर वितरण केन्द्रअन्तर्गतका विभिन्न फिडरमा विद्युत् कटौतीको तालिका सार्वजनिक गरेको हो। प्राधिकरणका अनुसार सम्बन्धित क्षेत्रमा हरेक दिन बिहान १०ः३० बजेदेखि दिउँसो ४ बजेसम्म विद्युत् आपूर्ति बन्द हुनेछ।

वितरण प्रणालीलाई थप व्यवस्थित, सुरक्षित र भरपर्दो बनाउने उद्देश्यले भूमिगत विद्युत् लाइन विस्तार तथा व्यवस्थापनको काम गर्न लागिएको प्राधिकरणले जनाएको छ।

प्राधिकरणले सार्वजनिक गरेको कार्यतालिकाअनुसार मंसिर ३ गते बलम्बु/थानकोट फिडरअन्तर्गत बल्खु खोला पुल र नैकाप क्षेत्रमा विद्युत् कटौती हुनेछ। मंसिर ४ गते धोबीखोला/बत्तीसपुतली फिडरअन्तर्गत लुम्बिनीदेखि शिफल ग्राउन्डसम्मका क्षेत्रमा विद्युत् आपूर्ति बन्द गरिनेछ।

त्यस्तै, मंसिर ५ गते कालिमाटी र बाफल फिडरअन्तर्गत स्युचाटार पुल क्षेत्रमा विद्युत् अवरुद्ध हुनेछ। मंसिर ६ गते पुनः बलम्बु/थानकोट फिडरअन्तर्गत बल्खु खोला पुल र नैकाप क्षेत्रमा विद्युत् कटौती गरिनेछ।

मंसिर ७ गते कोटेश्वर/इमाडोल फिडरअन्तर्गत ईडीटीआर ९ र ईडीटीआर ९ए क्षेत्रमा विद्युत् आपूर्ति बन्द हुनेछ। मंसिर ८ गते बलम्बु/थानकोट फिडरअन्तर्गत बल्खु खोला पुल र नैकाप तथा मंसिर ९ गते कोटेश्वर फिडरअन्तर्गत ईडीटीआर २६ए र ईडीटीआर ४ क्षेत्रमा विद्युत् कटौती हुनेछ।

यसैगरी, मंसिर १० गते धोबीखोला/बत्तीसपुतली फिडरअन्तर्गत शिफल ग्राउन्डदेखि कालोपुलसम्म विद्युत् आपूर्ति बन्द हुनेछ। मंसिर ११ गते बलम्बु/थानकोट फिडरअन्तर्गत सतुङ्गलदेखि डुङ्गे अड्डासम्म र मंसिर १२ गते कोटेश्वर फिडरअन्तर्गत ईडीटीआर ८ए र ईडीटीआर ८ क्षेत्रमा विद्युत् अवरुद्ध हुने प्राधिकरणले जनाएको छ।

मंसिर १३ गते थानकोट फिडरअन्तर्गत बलम्बुदेखि सगरमाथा स्याटेलाइट स्टेसनसम्म तथा मंसिर १४ गते धोबीखोला/बत्तीसपुतली फिडरअन्तर्गत शिफल ग्राउन्डदेखि कालोपुलसम्म विद्युत् आपूर्ति बन्द हुनेछ।

प्राधिकरणले निर्धारित समयभित्र भूमिगत लाइन विस्तारको काम सम्पन्न गर्ने लक्ष्य राखेको छ। तर, मौसम प्रतिकूल भएमा निर्धारित विद्युत् कटौती कार्यक्रम रद्द हुन सक्ने पनि जनाएको छ।

निर्माण तथा व्यवस्थापनको कामका क्रममा विद्युत् सेवा प्रभावित हुने भएकाले उपभोक्तामा पर्न जाने असुविधाप्रति प्राधिकरणले क्षमायाचना गरेको छ।

प्रकाशित : ३ मंसिर २०८३, बिहिबार ०८:२७ 19 November, 2026 8:27 am

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।