अर्थमन्त्री र इम्सन प्रतिनिधिमण्डलबिच भेट « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

अर्थमन्त्री र इम्सन प्रतिनिधिमण्डलबिच भेट



काठमाडौं । आर्थिक मिडियाहरूको संस्था इकोनोमिक मिडिया सोसाइटी (इम्सन)को प्रतिनिधिमण्डलले बिहीबार अर्थमन्त्री जनार्दन शर्मासँग भेटवार्ता गरेको छ । आज अर्थमन्त्रालयमा भएको भेटमा इम्सनले आर्थिक मिडियाहरुको प्रवर्दन तथा संरक्षणको लागि राज्यले गर्नुपर्ने बिभिन्न नीतिगत व्यवस्थाबारे ज्ञापनपत्र बुझाएको छ।

नेपालमा आर्थिक अनलाइन मिडियाको आवश्यकता र महत्त्वलाई नेपाल सरकारले स्वीकार गरेपनि कानुनी रुपमा यसको अस्तित्वलाई स्वीकार नगरिएको जानकारी गराउदै इम्सन ले तत्काल गर्नुपर्ने नीतिगत व्यवस्थाहरु समेटिएको ज्ञापनपत्र अर्थमन्त्री शर्मालाई बुझाएको छ।

अनलाइन मिडियाहरू जनताको सुचनाका प्रमुख माध्यम भइसक्दा पनि यस्ता मिडियाहरूमा सार्वजनिक सुचनाहरू प्रकाशन गर्न सरकारले बन्देज लगाउने काम गरेको, विशेषगरी बहुर्राष्ट्रिय कम्पनीहरू नेपालमा प्रवद्र्धनका नाममा नगन्य खर्च गर्ने र गरेको खर्च पनि पारदर्शी नहुने, सामाजिक सञ्जालमा अनधिकृतरुपमा हुने गरेको विज्ञापनलाई नियन्त्रण गर्न नसक्दा नेपालको विज्ञापन उद्योग नै धरासायी हुने अवस्था रहेको भन्दै अर्थमन्त्रीको ध्यानाकर्षण गराएको थियो ।

प्रतिउत्तरमा मन्त्री शर्माले पूरानोले नयाँलाई स्वीकार नगर्ने प्रवृत्ति रहँदै आएको बताउँदै त्यही प्रवृत्तिको मार अनलाइन मिडियामा पनि परेको बताए । उनले सबै मिडियाको अस्तित्व स्वीकार गर्दै जाने हाम्रो चेतना हुनुपर्छ भन्दै अनलाइन मिडियालाई पनि लोककल्याणकारी विज्ञापन दिनुपर्छ भनेर बजेट बढाएर प्रतिस्थापन विधेयकमा व्यवस्था गरिएको र खरीद नियमावली संशोधन गरी सार्वजनिक सुचनाहरू अनलाइन मिडियामा पनि प्रकाशन गर्न सकिने व्यवस्थाका लागि पहल गर्ने बताए ।

मिडियाको नियमन गर्ने निकायहरूले राज्यको सुविधा न्यायोचितरुपमा पाएनपाएको हेर्नुपर्नेमा त्यो काम हुन नसकेको मन्त्री शर्माको भनाई थियो । उनले भने, ‘तपाईंहरूलाई राम्रो हुने कुरामा हामी सकारात्मक छौं । त्यसमा हामीलाई बाधा अडचन छैन् ।’

मन्त्री शर्माले सामाजिक सञ्जालमा हुने विज्ञापनलाई नियमन गर्न एक प्रतिशत कर लगाउने कुरा गरिएको बताउँदै यो सुरुवात भएको बताए । क्रिप्टोकरेन्सीको अवैध कारोबार रोक्न नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई बोलाएर आग्रह गरेको सुनाउँदै उनले यस्ता अवैध डिजिटल कारोबार धेरै हुने गरेको बताए ।

मिडियालाई सरकारले हस्तक्षेप गर्न नमिल्ने भएकाले मिडियाले आफ्ना आचारसंहिता बनाएर आफै काम गर्नुपर्छ भन्दै शर्माले देश र अर्थतन्त्रलाई हेरेर काम गर्न सुझाव दिए ।

अर्थसचिव मधुकुमार मरासिनीले स्रोत नखुलेको सम्पत्ति लगानी गर्दा स्रोत खुवाउनु नपर्ने कुरा मानब बेचविखन, सम्पत्ति शुद्धीकरण, भ्रष्टाचार र कसुरजन्य अपराधबाट कमाएको पैसामा होइन् भनेर प्रष्ट पार्दा पनि गलत समाचार आएको गुनासो गरे । उनले सरकारको काममा खबरदारी गर्ने कुरा स्वाभाविक भए पनि सरकारको कुरालाई पुच्छारमा लगेर राख्ने कुराले गलत सन्देश जाने गरेको बताए ।

इम्सनका अध्यक्ष तथा कर्पोरेट नेपाल डटकममा सम्पादक सिताराम विलासीको नेतृत्त्वमा भएको अर्थमन्त्रीसँगको भेटमा इम्सनका उपाध्यक्ष तथा आर्थिकन्युज डटकमका सम्पादन इन्द्र बानिया, इम्सनका महासचिव तथा बिजपाटी डटकमका बजार प्रबन्धक लोचन खतिवडा, नोटबजारका बजार प्रमुख कविन्द्र लम्साल, अर्थपथका सम्पादक बिष्णु तालिके, कर्पोरेट नेपालमा बजार प्रमुख आशिस ढुंगाना, अर्थबजार डटकमका प्रधान सम्पादक डिल्ली सापकोटा, बिजपाटी डटकमका संस्थापक तथा सम्पादक मोहम्मद अज्मत अलि लगायतको उपस्थिति रहेको थियो। त्यस्तै अर्थमन्त्रालयबाट अर्थमन्त्री जनार्दन शर्मा तथा उनको सचिवालय, अर्थसचिव मधुकुमार मरासिनी लगायतको उपस्थिति थियो।

प्रकाशित : १४ आश्विन २०७८, बिहीबार २०:१९