सामाजिक सुरक्षा भत्ता अनियमितताको आरोपमा ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

सामाजिक सुरक्षा भत्ता अनियमितताको आरोपमा ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा



उदयपुर । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले उदयपुरका तत्कालीन पाँच जना गाविस सचिवहरूमाथि सामाजिक सुरक्षा भत्ता अपचलन गरेको अभियोगमा विशेष अदालतमा मुद्दा दर्ता गरेको छ ।

मृत्यु भइसकेका व्यक्तिको दोहोरो नाममा र बनावटी नाममा सामाजिक सुरक्षा भत्ताबापतको रकम निकासा गरी आर्थिक अनियमितता गरेको अभियोगमा मुद्दा दर्ता गरेको जनाइएको छ । 

उदयपुरको बेलका नगरपालिका तथा साबिक रामपुरठोक्सिला गाविसका तत्कालीन सचिव केशवप्रसाद आचार्यसहित पाँच जनाविरुद्ध अख्तियार दुरूपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको अभियोगमा विशेष अदालतमा मुद्दा दर्ता गरेको हो ।

मृत्यु भइसकेका व्यक्तिको दोहोरो नाममा र बनावटी नाममा सामाजिक सुरक्षा भत्ताबापतको रकम निकासा गरी आर्थिक अनियमितता गरेको भन्दै आचार्यसहित तत्कालीन गाविस सचिव लोकेन्द्र कार्की, विशाल सुन्दास, माधवप्रसाद खतिवडा र पुष्पराज सिग्देलविरुद्ध अख्तियारले बुधबार विशेष अदालतमा मुद्दा दर्ता गरेको हो ।

तत्कालीन गाविस सचिवहरूले मृत्यु दर्ता भएपछि मृतकको सामाजिक सुरक्षा भत्ता वितरणको भर्पाईमा कैफियत जनाई लगत कट्टा गर्नुपर्नेमा मृतक लाभग्राहीहरूका नामका निकासा गराई अनियमितता गर्नुका साथै दोहोरो नामको भर्पाई बनाएर भ्रष्टाचार गरेको अख्तियारको दाबी छ ।

आयोगले छानबिन गर्दा १६ लाख ४० हजार ५०० रुपैयाँ हिनामिना गरेको खुल्न आएको आयोगका प्रवक्ता नारायणप्रसाद रिसालले जानकारी दिए । उनका अनुसार सो गाविसमा सात-आठ वर्षअघि नै मृत्यु भइसकेकाको व्यक्तिका नाममा आर्थिक वर्ष २०६३/०६४ देखि २०७१/०७२ सम्ममा बनावटी नाममा सामाजिक सुरक्षा भत्ताबापतको रकम निकासा गरी अनियमितता गरेको देखिएको छ ।

अख्तियारले तत्कालीन गाविस सचिव आचार्यसँग नौ लाख ९० हजार ५००, कार्कीसँग ७८ हजार, सुन्दाससँग ८२ हजार, खतिवडासँग तीन लाख १४ हजार र सिग्देलसँग एक लाख ७६ हजार रुपैयाँ बिगो सजायको माग दाबीसहित अख्तियार दुरूपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा १८ को उपदफा ३५ बमोजिम अदालतमा आरोपपत्र दायर गरेको हो ।

तत्कालीन गाविस सचिव आचार्य हाल मालपोत कार्यालय उदयपुरका नायब सुब्बा तथा सूचना अधिकारी हुन् । कार्की सप्तरी मालपोत कार्यालय राजबिराजमा कार्यरत छन् भने सुन्दास तथ्यांक कार्यालय उदयपुरमा र खतिवडा रौतामाई गाउँपालिकाको कार्यालयमा शाखा अधिकृतका रूपमा कार्यरत छन् । सिग्देलले सेवाबाट अवकास पाइसकेका छन् ।

प्रकाशित : १३ आश्विन २०७८, बुधबार २१:०२