राष्ट्रपति र प्रधानमन्त्री मिलेर संविधान समाप्त पार्न खोजेः काँग्रेश « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

प्रवास

राष्ट्रपति र प्रधानमन्त्री मिलेर संविधान समाप्त पार्न खोजेः काँग्रेश



काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीले मिलेर संविधान समाप्त पार्न खोजेको आरोप लगाएको छ । सभापति शेरबहादुर देउवाले शनिवार विज्ञप्ति जारी गर्दै राष्ट्रपति र प्रधानमन्त्रीले संविधान समाप्त गर्न उद्दत देखिएको आरोप लगाएको हो । ‘राष्ट्रपति र प्रधानमन्त्री षडयन्त्र गरी पदको चरम दुरुपयोग गरी नेपालको संविधान समाप्त गर्न उद्दत रहेका छन् भन्ने नेपाली कांग्रेस ठहर गर्दछ,’ विज्ञप्तिमा भनिएको छ ।

देउवाद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ— ‘सरकार गठनपछि निरन्तर रुपले गैरसंवैधानिक र अलोकतान्त्रिक गतिविधि गर्दै लोकतान्त्रिक मूल्य, मान्यताको अवमूल्यन, विधि र पद्धतिको बेवास्ता र संसदीय पद्धतिको खिल्ली उडाउने काम भएको छ । राष्ट्रपति र प्रधानमन्त्रीले नेपाली जनताको आस्थाको केन्द्र संविधान जस्तो सार्वजनिक दस्तावेजलाई निजी सम्पत्तिका रुपमा आफू अनुकूल प्रयोग गरिरहेका छन् ।’

प्रकाशित : ८ जेष्ठ २०७८, शनिबार १३:१४