काठमाडौं । पुनर्नियुक्ति पाएका अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कोभिड–१९ लाई सामना गर्ने गरी आगामी वर्षको बजेट आउने बताएका छन् । अर्थ मन्त्रालयमा शुक्रबार पदबहालीपछि अर्थमन्त्री पौडेलले बजेट तयारीको अन्तिम चरणमा रहेको र कोभिड–१९ को महामारीले प्रभावित अर्थतन्त्रलाई पुनर्उत्थान र गतिशील बनाउने संकल्पकासाथ बजेट ल्याउने बताएका हुन् ।
उनले कोभिड–१९ लाई रोकथाम तथा नियन्त्रण गर्न सम्पूर्ण शक्ति, स्रोत र सामर्थ्य परिचालित गर्ने भन्दै कोभिड–१९ विरुद्धको लडाईंलाई थप सघन र प्रभावकारी बनाउने बताए । अर्थमन्त्री पौडेलले कोभिड–१९ बाट संक्रमित भएकाहरुको परीक्षण र उपचारका लागि आवश्यक सबै प्रयासहरुलाई अघि बढाउने प्रतिबद्धता व्यक्त गरे ।
पदभारसँगै अर्थमन्त्री पौडेलले अक्सिजन प्लान्ट र पाइप लाइन जडानका लागि डडेलधुरा अस्पताल, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान र भेरी अस्पताल नेपालगञ्जका लागि ५ करोड ८३ लाख २४ हजार रुपैयाँ उपलब्ध गराउने निर्णयलाई स्वीकृत गरेका छन् ।
Comment