राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान अधिकृत चौधरीविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
३ मंसिर २०८३, बिहिबारThursday, November 19, 2026

अर्थ राजनीति

राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान अधिकृत चौधरीविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर

यो समाचार सुन्नुहोस्अडियो तयार हुँदैछ, केही मिनेटपछि फेरि हेर्नुहोस्

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रिय अनुसन्धान विभागमा कार्यरत प्रमुख अनुसन्धान अधिकृत (रा.प.द्वितीय श्रेणी) रामबाबू प्रसाद चौधरीविरुद्ध विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको छ ।   

सेवा प्रवेश गर्दा र बढुवा तथा पदस्थापन हुने प्रयोजनका लागि उच्च पदस्थ कर्मचारीहरूले नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेको भन्ने उजुरीका आधारमा आयोगले अनुसन्धान अघि बढाएको थियो । अनुसन्धानका क्रममा चौधरीले राष्ट्रसेवक पदमा कार्यरत रहँदा बढुवा तथा पदस्थापनसमेत हुने उद्देश्यले बिहार इन्टरमिडिएट एजुकेसन काउन्सिलबाट जारी भएको देखिने आईए तहको मार्क्स स्टेटमेन्ट, प्रोभिजनल सर्टिफिकेट, कलेज लिभिङ सर्टिफिकेट, कन्डक्ट सर्टिफिकेट र माइग्रेसन सर्टिफिकेटलगायतका झूटा तथा नक्कली प्रमाणपत्र पेस गरेको पुष्टि भएको आयोगले जनाएको छ । 

नक्कली प्रमाणपत्र पेस गरी प्रमुख अनुसन्धान अधिकृत पदसम्मको बढुवा तथा पदस्थापन भई राष्ट्रसेवकको ओहदा, लाभ र सुविधासमेत प्राप्त गरेको पुष्टि भएपछि चौधरीविरुद्ध मुद्दा दायर गरिएको हा ।   

आयोगका प्रवक्ता सुरेश न्यौपानेद्वारा जारी प्रेस विज्ञप्तिअनुसार चौधरीलाई साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२ र प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको कसुरमा साविक ऐनको दफा १२ र दफा २९ को उपदफा (२) तथा प्रचलित ऐनको दफा १६ को उपदफा (१) बमोजिम कैद र जरिवाना सजाय मागदाबी लिई बिहीबार विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ ।

प्रकाशित : ३ मंसिर २०८३, बिहिबार १६:४१ 19 November, 2026 4:41 pm

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।