एकै महिनामा २ खर्ब ६७ अर्ब रेमिट्यान्स, असोजमा बन्यो नयाँ कीर्तिमान « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
३ मंसिर २०८३, बिहिबारThursday, November 19, 2026

बैंक / वित्त

एकै महिनामा २ खर्ब ६७ अर्ब रेमिट्यान्स, असोजमा बन्यो नयाँ कीर्तिमान

यो समाचार सुन्नुहोस्अडियो तयार हुँदैछ, केही मिनेटपछि फेरि हेर्नुहोस्

काठमाडौं । नेपालमा मासिक रेमिट्यान्स आप्रवाहले नयाँ कीर्तिमान कायम गरेको छ। नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्ष २०८३/८४ को असोज महिनामा मात्रै २ खर्ब ६७ अर्ब ३४ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ। यो हालसम्मकै उच्च मासिक रेमिट्यान्स आप्रवाह हो।

यसअघि गत वैशाखमा एकै महिनामा २ खर्ब ५७ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको थियो। असोजको आप्रवाहले उक्त कीर्तिमानलाई समेत उछिनेको हो। गत भदौमा २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको थियो भने अघिल्लो आर्थिक वर्षको असोजमा २ खर्ब १ अर्ब २२ करोड रुपैयाँ रेमिट्यान्स आएको थियो।

असोजमा भएको उच्च आप्रवाहसँगै चालु आर्थिक वर्षको पहिलो तीन महिनामा कुल ७ खर्ब ३ अर्ब ७० करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा २७.२ प्रतिशतले बढी हो। अघिल्लो वर्षको सोही अवधिमा रेमिट्यान्स आप्रवाहको वृद्धिदर ३५.४ प्रतिशत रहेको थियो।

अमेरिकी डलरमा गणना गर्दा समीक्षा अवधिमा रेमिट्यान्स आप्रवाह १६.७ प्रतिशतले वृद्धि भई ४ अर्ब ६० करोड डलर पुगेको राष्ट्र बैंकले जनाएको छ। अघिल्लो वर्षको सोही अवधिमा डलरमा रेमिट्यान्स आप्रवाह २९.२ प्रतिशतले बढेको थियो।

यसैगरी, समीक्षा अवधिमा खुद द्वितीय आय अर्थात् खुद ट्रान्स्फर ७ खर्ब ६२ अर्ब ९० करोड रुपैयाँ पुगेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा यस्तो आय ६ खर्ब १० अर्ब ६१ करोड रुपैयाँ रहेको थियो।

राष्ट्र बैंकको विवरणअनुसार चालु आर्थिक वर्षको पहिलो तीन महिनामा वैदेशिक रोजगारीका लागि संस्थागत तथा व्यक्तिगत रूपमा नयाँ अन्तिम श्रम स्वीकृति लिने नेपालीको संख्या १ लाख २१ हजार ८७९ रहेको छ। सोही अवधिमा पुनः श्रम स्वीकृति लिनेको संख्या ८२ हजार ३६९ पुगेको छ।

अघिल्लो आर्थिक वर्षको सोही अवधिमा नयाँ अन्तिम श्रम स्वीकृति लिनेको संख्या १ लाख २३ हजार ४५९ र पुनः श्रम स्वीकृति लिनेको संख्या ७७ हजार २५७ थियो। यसअनुसार नयाँ श्रम स्वीकृति लिनेको संख्या केही घटेको छ भने पुनः श्रम स्वीकृति लिनेको संख्या बढेको देखिन्छ।

प्रकाशित : ३ मंसिर २०८३, बिहिबार १७:४१ 19 November, 2026 5:41 pm

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।