विदेशी मुद्रा सञ्चिति ४१ खर्ब ६१ अर्ब पुग्यो, १७.२ महिनाको आयात धान्ने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
३ मंसिर २०८३, बिहिबारThursday, November 19, 2026

अर्थबजार स्टोरी

विदेशी मुद्रा सञ्चिति ४१ खर्ब ६१ अर्ब पुग्यो, १७.२ महिनाको आयात धान्ने

यो समाचार सुन्नुहोस्अडियो तयार हुँदैछ, केही मिनेटपछि फेरि हेर्नुहोस्

काठमाडौं । नेपालको विदेशी मुद्रा सञ्चिति बढेर ४१ खर्ब ६१ अर्ब रुपैयाँ पुगेको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिनाको आर्थिक तथा वित्तीय अवस्थासम्बन्धी विवरणअनुसार असोज मसान्तसम्मको विदेशी विनिमय सञ्चितिले १७.२ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त देखिएको छ।

राष्ट्र बैंकका अनुसार असार मसान्तको तुलनामा असोज मसान्तसम्म विदेशी विनिमय सञ्चिति नेपाली रुपैयाँमा ६.८ प्रतिशत र अमेरिकी डलरमा ८.२ प्रतिशतले वृद्धि भएको छ। अमेरिकी डलरमा यस्तो सञ्चिति २७ अर्ब ३९ करोड पुगेको छ।

कुल विदेशी मुद्रा सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकसँग ३६ खर्ब ९५ अर्ब २४ करोड रुपैयाँ रहेको छ। राष्ट्र बैंकबाहेकका बैंक तथा वित्तीय संस्थासँग भने ४ खर्ब ६५ अर्ब ९० करोड रुपैयाँ बराबरको विदेशी मुद्रा सञ्चिति रहेको राष्ट्र बैंकले जनाएको छ।

२०८३ असोज मसान्तसम्मको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको हिस्सा २१ प्रतिशत रहेको छ।

चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिनाको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी मुद्रा सञ्चितिले १९.९ महिनाको वस्तु आयात धान्न सक्ने देखिएको छ। वस्तु तथा सेवा दुवैको आयातलाई आधार मान्दा भने सञ्चितिले १७.२ महिनाको आयात धान्न पर्याप्त हुने राष्ट्र बैंकको विवरणमा उल्लेख छ।

प्रकाशित : ३ मंसिर २०८३, बिहिबार १७:५२ 19 November, 2026 5:52 pm

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।