काठमाडौं । विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसको असर बैंकहरुको नाफामा पनि परेको छ ।
चालु आर्थिक वर्षको पहिलो त्रैमासमा सञ्चालमा रहेका २७ वाणिज्य बैंकमध्ये १८ वटाको नाफा घटेको हो । बाँकी ९ वटा बैंकको नाफा मात्रै बढेको छ ।
कोरोनाका कारण बैंकहरुको व्यवसाय विस्तारमा असर पर्नुका साथै कर्जा नउठ्दा त्यसको प्रत्यक्ष असर नाफामा परेको छ ।
कोरोनाका कारण बैंकहरुले अहिले लगानी गर्न पनि पाएका छैनन् भने लगानी भएको ठाँउबाट ब्याज आउने क्रम पनि केही मात्रामा रोकिएको छ ।
आर्थिक वर्ष २०७७र७८ को पहिलो ३ महिना अर्थात् साउन, भदौ र असोजमा २७ वटा वाणिज्य बैंकले १४ अर्ब ६० करोड ३९ लाख ७६ हजार रुपैयाँ नाफा आर्जन गरेका छन् । जुन गत आवको पहिलो त्रैमासको तुलनामा ४.२८ प्रतिशतले कमी हो ।
गत आवको पहिलो त्रैमासमा बैंकहरुको नाफा १५ अर्ब २५ करोड ७९ लाख ५१ हजार रुपैयाँ रहेको थियो ।
यो अवधिमा नेपाल बंगलादेश, एनआईसी एसिया, मेगा एनएमबी, प्रभु, ग्लोबल आईएमई, कुमारी, प्राइम र सिटिजन्स बैंकको नाफा बढेको छ भने बाँकी बैंकको नाफा घटेको छ ।
यो अवधिमा १ अर्ब रुपैयाँभन्दा बढी नाफा कमाउने बैंकमा ४ वटा बैंक मात्रै छन् । जसमा एनआईसी एसिया, नबिल, ग्लोवल आईएमई, प्राइम कमर्शियल बैंक छन् ।
नाफा बढी कमाउने बैंकमा ग्लोवल आईएमई बैंक छन् । बैंकले १ अर्ब ५ करोड ८८ लाख ४० हजार रुपैयाँ नाफा कमाएको छ ।
जनता बैंकलाई मर्ज गरेको ग्लोबल आइएमइले मर्जरको फाइदा उठाउँदै पहिलो त्रैमासमा सबैभन्दा बढी नाफा कमाउन सफल भएको हो ।
Comment