काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले स्वास्थ्यमा सुधार आएको बताएका छन् । कोरोना संक्रमण देखिएपछि ओम अस्पतालमा उपचाररत डा. कोइरालाको विहीबार विहानदेखि स्वास्थ्य अवस्थामा सुधार आएको बताएका हुन ।
कोइराला स्वयंले एक भिडियो सन्देश जारी गर्दै आफ्नो स्वास्थ्य अवस्था ठीक रहेको जानकारी दिएका छन् । अरु एक दुई दिन अझै अस्पतालमा रहने पनि जानकारी दिएका छन् । उनले आफ्नो स्वास्थ्यप्रति चिन्ता व्यक्त गर्ने सबैमा धन्यवाद दिएका छन् ।
विहीबार विहान डा. कोइरालाले ब्रेड, अण्डा र जुस खानुभएको उनका स्वकीय सचिव भरत तिवारीले जानकारी दिए । कोरोना पोजिटिभ देखिएपछि केही दिन घरमै आइसोलेसनमा रहेका कोइराला अलिक गाह्रो भएपछि अस्पताल भर्ना भएका हुन ।
यता, नेपाली काँग्रेस सभापति शेरबहादुर देउवा कन्ट्याक्ट ट्रेसिङमा परेका छन् । आफ्नो निजी सचिवालयमा कार्यरत एक जनामा कोरोना पोजेटिभ देखिएपछि उनी होम आइसोलेसनमा छन् ।
सचिवालयमा कार्यरत चार जनाको रिपोर्ट नेगेटिभ आए पनि एक जनामा पोजिटिभ देखिएकाले उनी होम आइसोलेसनमा रहेका हुन । देउवाका स्वकीय सचिव भानु देउवाले एक जनामा पोजेटिभ रिपोर्ट देखिएको जानकारी दिए ।
Comment