कोरोना बीमा – सर्वसाधारणलाई प्रीमियमकाे ५० प्रतिशत र सरकारी कर्मचारीलाई पूर्ण अनुदान « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

कोरोना बीमा – सर्वसाधारणलाई प्रीमियमकाे ५० प्रतिशत र सरकारी कर्मचारीलाई पूर्ण अनुदान



काठमाडाै । सामूहिक रुपमा कोरोना बीमा गर्दा सर्वसाधारणले प्रीमियमका ५० प्रतिशत अनुदान पाउने भएका छन्। चालु आर्थिक वर्षको बजेटमा गरेको घोषणा अनुसार अर्थ मन्त्रालयले अनुदानसम्बन्धी कार्यविधि स्विकृत गर्दै सर्वसाधारणले कोरोना बीमा गर्दा प्रीमियमको ५० प्रतिशत र सरकारी कर्मचारीले पूर्ण अनुदान प्राप्त गर्ने व्यवस्था गरेको छ।

बीमा समितिले बुधबार पत्रकार सम्मेलन गरी कोरोना बीमामा अनुदान सुरु भएको औपचारिक घोषणा गरेको हो।

अनुदान प्राप्त गर्नका लागि सामूहिक रुपमा नै बीमा गर्नुपर्नेछ। व्यक्तिगत रुपमा गरिएको बीमामा भने अनुदान उपलब्ध हुँदैन।

हाल कोरोना बीमा लेख अन्तर्गत एक लाख र ५० हजार गरी दुई प्रकारको बिमांक छन्। एक लाख बीमांक भएको बीमा लेखका लागि प्रतिव्यक्ति एक हजार र ५० हजारको बीमांका लागि प्रतिव्यक्ति ५ सय रुपैयाँ बीमा शुल्क तोकिएको छ। सामूहिक बीमा गर्दा भने १ लाखको लागि प्रतिव्यक्ति ६ सय र ५० हजारको लागि प्रतिव्यक्ति ३ सय रुपैयाँ बीमा शुल्क छ।

अब सामूहिक रुपमा बीमा गर्ने हो भने एक लाखको लागि ३ सय र ५० हजारको लागि एक सय ५० रुपैयाँ मात्र प्रीमियम तिर्नुपर्नेछ।

अनुदानमा प्राप्त हुने बीमा सुविधा कुनै पनि परिवारले एउटा कम्पनीबाट एकपटकका लागि मात्र पाउने र यसको अवधि २०७८ साल असार मसान्तसम्म मात्र रहने समितिले जनाएको छ।

कोरोना बीमा खरिद गर्नका लागि नेपाली नागरिक हुनुपर्ने र भारत वा तेस्रो मुलुकबाट नेपाल फर्केको भएमा १५ दिन अनिवार्य क्वारेन्टाइनमा बसेको र थप १५ दिन आफ्नो परिवारसँग गरी कुल ३० दिन बसेको सम्बन्धित स्थानीय तहले प्रमाणित गरेको हुनुपर्ने व्यवस्था छ।

कोरोना बीमालेख खरिद गरेको १५ दिन पछि नेपाल सरकार स्वास्थ्य मन्त्रालय अन्तर्गतका निकायबाट पीसीआर परीक्षण गर्दा कोरोना भाइरस संक्रमण भएको पाइएमा बीमालेख बमोजिमको रकम भुक्तानी हुने बीमा समितिले जनाएको छ। त्यसका लागि बीमा लेख दाबी गरेको ७ दिन भित्र बीमितलाई दाबी भुक्तानी हुने व्यवस्था पनि गरिएको छ।

प्रकाशित : २१ श्रावण २०७७, बुधबार २१:४५