काठमाडाै । निरन्तर बर्षाको कारण देशका अधिकांश स्थानमा आएको बाढी तथा पहिरोले विभिन्न राजमार्गमा आवागमन रोकिएको छ ।
चितवनको इच्छाकामना गाउँपालिका ६ चारकिलोमा पहिरो खसेर आज बिहान ५ बजे देखी नारायणगढ—मुग्लिन सडकखण्डमा सवारी आवागमन रोकिएको छ । निरन्तर बर्षा भइरहेको र पहिरो खस्ने क्रम पनि जारी रहेकाले पहिरो हटाउन समस्या भएको ईलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक कञ्चन तामाङले जानकारी दिए ।
दाङको घोराही उपमहानगरपालिका १९ च्यानगैरामा आज बिहान साढे ६ बजे खसेको पहिरोले घोराही रोल्पा सडकखण्डमा आवागमन रोकिएको छ । गोर्खाको गोर्खा नगरपालिका १३ मझुवामा आज बिहान पहिरो खस्दा गोर्खा–आबुखैरेनी सडकखण्ड अवरुद्ध भएको छ । अर्घाखाँचीको शितगंगा नगरपालिका २ झोलुङगेपुलमा पहिरो खसेर आज बिहान देखी सन्धिखर्क—गोरुसिंगे सडकखण्ड हुँदै चल्ने सवारी साधनको आवागमन रोकिएको छ । स्याङजाको पुतलीबजार नगरपालिका १ तिनधारे ठाडोखोला स्थित सिद्धार्थ राजमार्गमा पनि पहिरो खस्दा आवागमन रोकिएको ट्राफिक प्रहरीले जनाएको छ ।
त्यस्तै प्युठानको सरुमारानी गाँउपालिका ४ पाकुरी खोलामा आज बिहान पहिरो खस्दा भालुवाङ—रोल्पा सडकखण्डमा आवागमन रोकिएको छ । प्रहरीका अनुसार सोलुखुम्बुको दुधकुण्ड नगरपालिका ११ साल्मे स्थित सोलु– ओखलढुङगा सडकखण्डमा पनि माथीबाट पहिरो खस्दा आज बिहान साढे ८ बजेबाट आवागमन रोकिएको छ । रसुवाको गोसाईकुण्ड गाँउपालिका स्थित स्याफ्रुवेशीमा पनि हिजो बेलुकी साढे ७ बजे पहिरो खस्दा पासाङ ल्याह्मु राजमार्गमा आवागमन रोकिएको छ ।
लम्जुङ्गको मस्याङदी गाँउपालिका ४ च्याम्चेमा हिजो बेलुकी सवा ७ बजे पहिरो खस्दा बेसीशहर—मनाङ सडकखण्डमा आवागमन रोकिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार पाल्पाको तानसेन नगरपालिका ८ गौडेपुलमा पनि गएराती पहिरो खस्दा सिद्धार्थ राजमार्ग अवरुद्ध भएको छ । पहिरोका कारण अवरुद्ध भएको राजमार्ग खुलाउने प्रयास भईरहेको छ ।
ट्राफिक प्रहरीले यस्तो समयमा अत्यावश्यक परे मात्र यात्रा गर्न र यात्रा गर्दा सतर्कता अपनाउन आग्रह गरेको छ ।
Comment