काठमाडौं । विदेशबाट नेपाल आएका नेपालीहरूले आफ्नै खर्चमा बस्न चाहनेहरूका लागि सरकारले होटलको सूची प्रकाशन गरेको छ । काठमाडौं जिल्ला प्रशासन कार्यालयले पहिलो चरणमा उपत्यकाको ४५ वटा होटलको सूची सार्वजनिक गरेका हो ।
जसमा चारतारेदेखि पर्यटकीय स्तरका होटल रहेका छन् । होटल संघ नेपालले सरकारलाई बुझाएको होटलको विवरणका अनुसार काठमाडौं जिल्ला प्रशासनले सूची जारी गरेको हो ।
आफ्नै खर्चमा नेपाल आएर आफैं खर्च गरेर क्वारेन्टाइनमा बस्न चाहनेलाई सरकारले होटलमा राख्ने निर्णय गरेका थियो । सोहीअनुसार होटल संघ नेपालले पनि होटलका रुम क्वारेन्टाइनका लागि दिने निर्णय गरेका थिए । जसमा चारतारे होटल ग्रान्डादेखि पर्यटकीय होटलसम्म रहेका छन् ।
होटल संघ नेपालका वरिष्ठ उपाध्यक्ष विनायक शाहले काठमाडौं जिल्ला प्रशासनले होटलको सूची सार्वजनिक गरे पनि होटलसँग समन्वय भने नभएको बताए । चारतारे होटलको एक बेड भएको रुमका लागि ८ हजार र पर्यटकीय स्तरका होटलको हकमा एक्लैको लागि ३ हजार रुपैयाँ लाग्ने व्यवस्था गरिएको छ ।
टोलटोलमा होटल भएको ठाउँमा बाहिरबाट आएका मानिसलाई वडा कार्यालयको स्वीकृत नलिइकन नराख्न भन्दै सूचना जारी भएको छ । तर, यसमा सरकारले कुनै समन्वय नगरेको शाह बताउँछन् । त्यसमा पनि कहिलेबाट कति आउने हो भन्ने विवरण पनि नपाएको उनको भनाइ छ ।
काठमाडौंबाहेक एउटा पोखरा र एउटा रुपन्देहीको होटलको नाम सूचीमा रहेको छ ।
चारतारे होटलको एक बेड भएको रुमका लागि ८ हजार र दुई बेड भएका रुमका लागि प्रतिबेड ५ हजार ५ सय रुपैयाँ तोकेका छन । यसैगरी तीनतारे होटलमा एक्लै बस्न चाहनेका लागि ६ हजार र २ जना बस्न चाहनेका लागि प्रतिव्यक्ति ३ हजार ५ सय निर्धारण भएको हानले जनाएको छ ।
दुईतारे होटलमा एक्लै बस्न चाहेका लागि ५ हजार र दुई जनाको लागि प्रतिव्यक्ति २ हजार ५ सय रुपैयाँ तय भएको छ । यसमा चारपटकसम्मको खाना र खाजा पनि समावेश हुनेछ । एकतारेका हकमा भने एक्लै बस्न चाहनेका लागि ४ हजार र दुई जना बस्दा प्रतिव्यक्ति २ हजार ५ सय रुपैयाँ छ ।
पर्यटकीय स्तरका होटलको हकमा एक्लैका लागि ३ हजार र दुई जनाको लागि प्रतिव्यक्ति २ हजार रुपैयाँ निर्धारण गरिएको भएको छ । यो मूल्यमा करसमेत जोडिएको हानले जनाएको छ । विदेशबाट आउनेले सुविधा सम्पन्न क्वारेन्टाइनमा बस्न चाहेमा रकम तिरेर होटलको क्वारेन्टाइनमा बस्न सक्नेछन् भने अन्यलाई सरकारी क्वारेन्टाइनमा निःशुल्क राखिनेछ ।
Comment