लकडाउनकै बीच देशका विभिन्न शहरमा पसलहरु खुले, बाध्यता परेको व्यवसायीको गुनासो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बीमा

लकडाउनकै बीच देशका विभिन्न शहरमा पसलहरु खुले, बाध्यता परेको व्यवसायीको गुनासो



काठमाडौं । कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि ७३ दिनदेखि जारी लकडाउनलाई बेवास्ता गर्दै देशभर चहलपहल सुरु भएको छ । पसलहरु खुल्न थालेका छन् ।

काठमाडौंका व्यवसायीहरुले सबै प्रकारका पसलहरु खोल्न सुरु गरेका छन् । सडकमा पनि सवारी साधनहरुको चाप बढेको छ । लकडाउनका कारण व्यवसाय धरासयी भएको भन्दै व्यवसायीहरु पसल खोल्न थालेका हुन् ।

विहीबार बिहान काठमाडौंका मुख्य व्यापारीक केन्द्र न्यूरोड, कोटेश्वर, बौद्ध, भोटेबहाल, इन्द्रचोक लगायतका क्षेत्रका पसलहरु खुला भएका छन् ।

कतिपय व्यापारीले ग्राहकको तापक्रम नापेर र स्यानिटाइजर लगाउन दिएर मात्र पसलमा प्रवेश गराएका छन् ।

लामो समयसदेखि व्यवसाय बन्द हुँदा धेरै ठूलो समस्या परेको कारण पसल व्यवसाय खोल्न बाध्य भएको उनीहरुले बताएका छन् ।

राज्यलाई तिर्ने कर, घर भाडा, बैंकको ब्याजदर र कर्मचारीको तलव भत्ता समेत भुक्तानी गर्न समस्या भएका कारण पसल व्यवसायहरु खुला गर्नु परेको व्यवसायीहरुले बताएका छन् ।

बानेश्वर, मैतीदेवीलगायत क्षेत्रहरुमा विहानै पसल खोल्न पुगेका केही व्यवसायीहरुलाई भने प्रहरीले फर्काइदिएको छ ।

नेपालगन्ज, चितवन, पोखरालगायतका क्षेत्रमा पनि छिटफुट पसलहरु खुल्न थालेका छन् ।
जिल्ला प्रशासन कार्यालय बाँकेले समयतालिका मिलाएर पसल खुल्ने व्यवस्था गरेको छ ।

सर्वदलीय, सर्वपक्षीय बैठकको सुझावका आधारमा हरेक दिन ११ बजेदेखि ३ बजेसम्म फरक–फरक दिन फरक–फरक पसल खोल्न दिने निर्णय गरेको हो ।

सहायक प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले आइतबार र बुधबार मोबाइल र इलेक्ट्रोनिक्स, पुस्तक, फोटो स्टुडियो, छापाखाना, फर्निचर, फर्निसिङ र भाडा पसल सञ्चालनमा आउने जानकारी दिए ।

इलाममा पनि विहीबारदेखि सबैखाले व्यापार व्यवसाय संचालनमा आउन थालेका छन् । उद्योग वाणिज्य संघ इलामले व्यवसायीको हितका लागि भन्दै बजार खुलाउने निर्णय गरेसगै दुई महिनादेखि बन्द बजार खुलेको हो ।

भरतपुर महानगर फलफूल तथा तरकारी बजार’ बुधबारदेखि सञ्चालनमा आएको छ ।
कोभिड–१९ को जोखिम हुन नदिन सो तरकारी बजार गत चैत १८ गतेदेखि बन्द गरिएको थियो ।
यसबाट कृषकले उत्पादन गरेको तरकारी खेर गएको थियो ।

भारतीय तरकारी बोकेका सवारी साधन बजारमा आउन थालेपछि जिल्ला प्रशासन कार्यालय चितवनले जिल्लाकै ठूलो सो तरकारी बजार बन्द गराएको थियो ।

प्रकाशित : २२ जेष्ठ २०७७, बिहीबार १३:४६