काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा वीरगञ्ज–काठमाडौं र रसुवागढी–काठमाडौं रेलमार्ग निर्माणको प्रारम्भिक काम शुरु गर्ने घोषणा गरेको छ ।
सरकारको तर्फबाट राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०७७/७८को नीति तथा कार्यक्रम पेश गर्दै रेलमार्ग निर्माण थालिने बताएकी हुन् ।
प्रारम्भिक अध्ययन प्रतिवेदन प्राप्त भइसकेकाले अब निर्माणको प्रारम्भिक काम शुरु गर्ने बताउँदै उनले पूर्व पश्चिम रेलमार्गको काँकडभिट्टा–ईनरुवा खण्डको निर्माण पनि थालिने घोषणा गरिन् । पूर्व–पश्चिम रेलमार्गको एउटा बाहेक सबै खण्डको विस्तृत परियोजना प्रतिवेदन तयार भइसकेको जनाइएको छ ।
यसैगरी सरकारले नेपालका तीन ठूला नदी कोशी, कर्णाली र गण्डकीलाई भारतीय जलमार्गसँग जोडिने पनि जनाएको छ । गण्डकी नदीको उपयुक्त स्थानमा टर्मिनल बनाएर भारतीय जल यातायात सञ्जालसँग जोड्ने र तीन वर्षभित्र जल यातायात सञ्चालनको घोषणा सरकारले गरेको हो ।
सरकारले उता चीनसँग सम्झौता भएको ७ वटा बन्दरगाह प्रयोगलाई प्राथमिकता दिने पनि जनाएको छ । संसदमा नीति तथा कार्यक्रम पेश गर्दै राष्ट्रपति भण्डारीले यी बन्दरगाहको प्रयोगमार्फत वैदेशिक ब्यापार बढाउने बताएकी हुन् ।
नेपालका लागि चीनका चार वटा सामुन्द्रिक र तीन वटा स्थल बन्दरगाह उपलब्ध भएको छ । त्यसैगरी सरकारले नेपालगन्जमा एकीकृत जाँच चौकी निर्माण गर्ने घोषणा पनि गरेको छ ।
कैलालीको हरैयामा व्यापार विशेष क्षेत्र र कञ्चनपुरको दोधारा चाँदनी क्षेत्रमा सुख्खा बन्दरगाह बनाइने पनि घोषण गरिएको छ ।
हुम्लाको यारी, मुस्ताङको कोरला, संखुवासभाको किमाथांका, ताप्लेजुङको आलाङ्चुंगोलामा वैदेशिक व्यापारको सम्भाब्यता अध्ययन गरी पूर्वाधार निर्माण गर्ने घोषणा पनि गरिएको छ ।
रसुवाको टिमुरेको बन्दरगाह आगामी आर्थिक वर्षमा र काठमाडौंको चोभरमा बनिरहेको बन्दरगाह दुई वर्षमा सञ्चालन गर्ने सरकारले जनाएको छ ।
Comment