काठमाडौं । कोरोना महामारी र लकडाउनका कारण आगामी आर्थिक वर्ष २०७७/७८ को बजेट अधिवेशन पनि प्रभावित बनेको छ ।
यद्यपी, १५ जेठमा बजेट सार्वजनिक गर्न वैशाख अन्तिम साता बजेट अधिवेशन र जेठ पहिलो साता ‘नीति तथा कार्यक्रम’ ल्याउने तयारी थालिएको छ ।
गत वर्ष बजेट अधिवेशन १६ वैशाखमा नै बोलाइएको थियो । सरकारले आगामी आइतबारसम्म बैठक सञ्चालनको सबै तयारी सक्न संसद् सचिवालयलाई निर्देशन दिएको छ ।
आगामी नयाँ बजेट आन्तरिक रोजगारी व्यवस्थापन, स्वदेशी उत्पादन बढाउन र स्वास्थ्य क्षेत्रको पूर्वाधार बढाउन केन्द्रित हुनेछ ।
कोरोना भाइरस संक्रमणका कारण मुलुक गत ११ चैतदेखि लकडाउनमा रहेकाले संसद् अधिवेशन कहिले बस्ने मितिसमेत तय गर्न अन्योल भइरहेका बेला संघीय संसद्का सभामुख सापकोटा र प्रधानमन्त्री केपी शर्मा ओलीबीच बजेट अधिवेशन आह्वान गर्ने तयारीबारे छलफल भएको हो ।
जसका लागि सभामुख सापकोटा, राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र प्रधानमन्त्री ओलीले संसद् भवन बानेश्वरमा भइरहेको तयारीको अवस्थाबारे अवलोकन गरेका हुन् ।
सभामुख सापकोटाले सामाजिक दूरी कायम गरी संसद् चलाउन सक्ने धारणा राखेपछि प्रधानमन्त्री ओली संघीय संसद् भवनमा रहेको बैठक कक्ष अवलोकन गर्न पुगेका हुन् ।
बैठक कक्ष अवलोकनको क्रममा बजेट अधिवेशनको तयारी, राष्ट्रपतिले प्रस्तुत गर्ने सरकारको नीति तथा कार्यक्रम, बजेटको सिद्धान्त र प्राथमिकताका सन्दर्भमा छलफल व्यापक भएको थियो ।
प्रतिनिधिसभा नियमावली २०७४ अनुसार प्रतिनिधिसभा नियमावलीअनुसार बजेट प्रस्तुत गरिने १५ दिनअघि प्रि–बजेट छलफल पूरा हुनुपर्छ ।
सोही प्रावधानअनुसार यस महिनाको अन्तसम्ममा प्रि–बजेट छलफल पूरा भइसक्नुपर्नेछ । बजेटअघि नै राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको ‘नीति तथा कार्यक्रम’ प्रस्तुत गर्नुपर्छ ।
Comment