१२० पर्ने सामान २२० रुपैंयाँ लिएको पाएपछि भाटभटेनीलाई तीन लाख जरिवाना « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बीमा

१२० पर्ने सामान २२० रुपैंयाँ लिएको पाएपछि भाटभटेनीलाई तीन लाख जरिवाना



काठमाडौं । बढी मूल्यमा सामान बिक्री गरेवापत सोमबार चार पसललाई कारवाही गरिएको छ ।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको नियमित बजार अनुगमनका क्रममा बढी मूल्य लिएको भेटिएपछि कारवाहीस्वरुप जरिवाना गरिएको जनाइएको छ ।

विभागका सूचना अधिकारी रवीन्द्र आचार्यका अनुसार लाखामरी खरीदमूल्य (एमआरपी) भन्दा बढी मूल्य लिएको भेटिएपछि टंगालस्थित भाटभटेनी सुपर मार्केटलाई रु. तीन लाख जरिवाना गरिएको छ ।

खरीद मूल्य प्रतिगोटा रु. १२० रहेकामा भाटभटेनीले रु. २२० लिएको पाएपछि कारवाही गरिएको उनले जानकारी दिए । उनका अनुसार सोमबार नै कपनस्थित अमरावती खाद्य भण्डारले बढी मूल्यमा खाद्य सामग्री बिक्री गरेको पाइएपछि रु. दुई लाख जरिवाना गरिएको छ ।

भण्डारले आफूले नै महँगोमा सामान खरीद गरेको भने तापनि बिल देखाउन नसकेपछि उक्त भण्डारलाई कारवाही गरिएको हो ।

त्यस्तै बढी मूल्यमा खाद्यान्न बिक्री गरेवापत कपनमा सञ्चालित एमबिटी खाद्य सप्लायर्सलाई रु. एक लाख र जिएन स्टोरलाई रु.पचास हजार जरिवाना गरिएको छ ।

ती चार पसललाई सोमबार कारवाही गर्दा रु। छ लाख ५० हजार राजश्व संकलन भएको बताइएको छ । उपभोक्ता संरक्षण ऐन २०७५ बमोजिम सो जरिवाना गरिएको विभागले जनाएको छ ।

प्रकाशित : १५ बैशाख २०७७, सोमबार २१:०५