लकडाउन कहिले खुल्छ ? प्रधानमन्त्रीको सन्देशमै स्पष्ट « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बीमा

लकडाउन कहिले खुल्छ ? प्रधानमन्त्रीको सन्देशमै स्पष्ट




काठमाडौं । नयाँ बर्ष २०७७ का अवसरमा प्रधानमन्त्री केपी शर्मा ओली शुभकामना सन्देश ब्यक्त गरेका छन् । ओलीले कोरोना भाइरसको महामारीबाट पूरै विश्वसहित नेपाल चाँडै मुक्त हुने विश्वास व्यक्त गरेका छन् ।

शुभकामना सन्देश दिँदै प्रधानमन्त्री ओलीले कोरोना विरुद्धको युद्ध’को अगुवाइ सरकारले गरिरहेको भन्दै यसमा सहयोग गर्न अपिल गरेका छन् । ओलीले सबै नेपाली कोरोनाबाट जोगिन सकुन् भन्ने कामना गरेका छन् ।

‘देशभित्र र बाहिर रहनु भएका सबै नेपाली दिदीबहिनी दाजुभाइहरुलाई मेरो कामना छ– तपाइँ र तपाईंका परिवारजन र आफन्तहरू सबै कोरोना भाइरसको सङ्क्रमणबाट जोगिन सक्नुहोस् ! जसलाई सङ्क्रमण भएको छ, उहाँहरुले यसमाथि विजय हासिल गर्न सक्नुहोस् ।’

ओलीले बुधबारसम्ममा हुने प्रगतिको आधारमा लकडाउनको समय थप्ने वा नथप्ने निर्णय गर्ने सन्देशमा उल्लेख गरेका छन् । सन्देशमा उनले बुधबारसम्म लकडाउन गर्ने यसअघिकै निर्णय कार्यान्वयन गर्न आग्रह गर्दै मङ्गलबार र बुधबार हुने प्रगतिको आधारमा कोरोना महामारीविरुद्धको नीति तय हुने बताएका हुन ।

लकडाउन बढाए पनि आपूर्ति प्रणालीलाई कमजोर हुन नदिइने उनले संकेत गरे । कोरोनाको सङ्क्रमणबाट जोगिन व्यक्तिगत दुरी आवश्यक रहेकाले लकडाउन गरिएको पनि उनले बताए ।

सन्देशमा भनिएको छ–‘आगामी बैशाख ३ गते लकडाउनको दोस्रो समयावधि पूरा हुन्छ । यिनै दुई दिनको अवधिमा हुने प्रगतिको आधारमा कोरोना–महामारी विरुद्धको हाम्रो नीति कस्तो हुने भन्ने सरकारले निर्णय गर्ने छ । ढुक्क होऔं, कस्तै प्रतिकूल अवस्थामा पनि आपूर्ति प्रणालीलाई कमजोर हुन दिइने छैन ।’

विश्वका विभिन्न देशमा फैलिएको कोरोनाका कारण अहिलेसम्म १७ लाखभन्दा धेरै सङ्क्रमित भएको अवस्थामा नेपालमा प्रति १० लाख शून्य दशमलव ३ प्रतिशतमा मात्रै सङ्क्रमण हुनु लकडाउनका कारण मात्र सम्भव भएको प्रधानमन्त्री ओलीको दाबी छ ।

नेपालमा अहिलेसम्म १३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएकोमा एक जना उपचारपछि निको भएर घर फर्किसकेका छन् भने बाँकी १२ जनाको उपचार भइरहेको छ ।

प्रकाशित : १ बैशाख २०७७, सोमबार १४:२२