काठमाडौं । शुक्रबार (भोलि) र शनिबार काठमाडौं उपत्यकाबाट बाहिर जान खुला गर्ने निर्णयबाट सरकार पछि हटेको छ ।
उपप्रधानमन्त्री ईश्वर पोखरेल संयोजकत्वको उच्चस्तरीय समितिले बिहीबार दिउँसो शुक्रबार र शनिबार उपत्यकाबाट बाहिर जान दिने तर भित्र छिर्न नदिने निर्णय गरेकोमा डेढ घन्टामै उक्त निर्णय उल्टिएको हो ।
बाहिर जान चाहनेहरुलाई कसरी पठाउने भन्ने व्यवस्थापनको जिम्मा गृह मन्त्रालयलाई दिइएकोमा गृहले हालका लागि सम्भव नहुने राय दिएपछि निर्णय उल्टिएको बुझिएको छ ।
उक्त निर्णय सार्वजनिक भएपछि भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङलाई विभिन्न ठाउँबाट दबाब आएको थियो। ‘खासगरी यातायात व्यवसायीले बस संचालन गर्न नसक्ने बताएपछि निर्णय फिर्ता लिइएको’ उच्चस्तरीय समितिका एक सदस्यले बताए ।
प्रदेश सरकारहरुलेसमेत केन्द्र सरकारको निर्णयप्रति असहमति जनाएका थिए । सयौं किलोमिटर पैदल हिँडेर मजदुर बाहिरिइरहेको समाचार आएपछि उच्चस्तरीय समितिले शुक्रबार र शनिबार सवारी संचालन गर्ने निर्णय गरेको थियो ।
उच्चस्तरीय समितिका संयोजक रक्षामन्त्री पोखरेलले बिहीबारै अपराह्न विज्ञप्ति जारी गर्दै चैत २८ र २९ गते काठमाडौंबाट बाहिर जान खुला गर्ने निर्णय नगरिएको स्पस्ट पारेका छन् ।
विज्ञप्तिमा भ्रमपूर्ण समाचार सम्प्रेषण भएको भन्दै त्यस्तो कुनै निर्णय नभएको, लकडाउन जारी रहेका र प्रधानमन्त्री केपी शर्मा ओलीको सम्बोधनमा समेत लकडाउनको आवश्यकतालाई गम्भीररूपमा उठाइएकाले भ्रममा नपर्न आग्रह गरिएको छ ।
स्थानीय तहहरुले बाहिरबाट जाने मानिसहरुलाई प्रवेशमा रोक लगाएको बेला सरकारले गरेको निर्णयको सबैतिर आलोचना भएको थियो ।
Comment