विदेशमा रहेका ६१ हजार नेपाली फर्किए, भारतबाट फर्किनेको संख्या धेरै « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बीमा

विदेशमा रहेका ६१ हजार नेपाली फर्किए, भारतबाट फर्किनेको संख्या धेरै



काठमाडौं । कोभिड–१९ को विश्वव्यापी महामारी फैलिन थालेपछि विदेशमा रहेका नेपाली धमाधम स्वदेश फर्किरहेका छन् ।

यो अवस्थामा विदेशमा रहेका ६१ हजार नेपाली स्वदेश फर्किएको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ ।

यो सङ्ख्या चैत ४ देखि चैत २३ गतेसम्म मन्त्रालयले देशका ७५३ वटै स्थानीय तहबाट सङ्कलन गरेको विवरण हो ।

छिमेकी मुलुक भारतसहित विभिन्न मुलुकबाट हवाई तथा सडक मार्ग भएर उनीहरु नेपाल आएका हुन् । यसमध्ये जहाजमार्फत ४५८ जना छन् ।

उनीहरु चैत ४ गते कतार एयरवेजबाट १८५, चैत ६ गते एयर अरेबियाबाट १७० र भारतको विस्तारा एयरबाट १३० जना नेपाल आएका थिए ।

बाँकी सबै भारतबाट नेपाल आएको बताइएको छ । काठमाडौँमा ११७ जना विदेशबाट फर्किएका नेपाली सेल्फ क्वारेन्टाइनमा बसिरहेको मन्त्रालयले जनाएको छ । उनीहरु दुबई, फ्रान्स, टर्की, साउदी अरब र अष्ट्रेलियाबाट आएका हुन् । नेपालमा पहिलोपटक गत माघ ९ गते एक नेपालीमा कोभिडको सङ्क्रमण देखिएको थियो ।

पछिल्लो पटक चैत १० गते अर्का एक नेपालीमा कोभिडको सङ्क्रमण भेटियो । हालसम्म नौजनामा कोभिडको सङ्क्रमण भेटिएको छ । यीमध्ये एकजना उपचारपछि घर फर्किसकेका छन् ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहबाट कोभिडको रोकथाम तथा व्यवस्थापनका सम्बन्धमा गरिरहेका कामको जानकारी दिन सिंहदरबारमा आयोजना गरेको पत्रकार सम्मेलनमा यस्तो जानकारी दिइएको हो ।

प्रकाशित : २४ चैत्र २०७६, सोमबार ११:०३