काठमाडौं । गैरआवासीय नेपाली संघ एनआरएनएले विभिन्न देशमा अवैधानिक र विद्यार्थी भिसामा रहेका नेपालीको उद्धार गर्न नेपाल सरकारसमक्ष आग्रह गरेको छ ।
कोभिड–१९ को महामारी बढेसँगै संघले वैदेशिक रोजगारीका लागि कामदार भिसामा गएका तर भिसाअवधि सकिएर पनि अवैधानिकरूपमा बसिरहेका, भ्रमण भिसामा गई लकडाउनमा परेका, भ्रमण भिसामा गएपनि कामका लागि अवैधानिकरूपमा बसेकादेखि अध्ययन भिसामा रहेका नेपालीको उद्धार गर्न आग्रह गरेको हो ।
संघले यसका लागि सरकारसँग समन्वय गर्न तयार रहेको समेत जनाएको छ । संघका प्रवक्ता डिबी क्षेत्रीले विभिन्न मुलुका सरकारले आफ्नो देश फर्कन चाहनेलाई सहजरूपमा जान दिने सम्भावना रहेकाले पहल गर्न नेपाल सरकारसमक्ष आग्रह गरे ।
कुवेत सरकारले यो सुविधा दिने बताइसकेको छ । यो सुविधा नहुने अवस्थामा अवैधानिकरूपमा रहेका नेपालीले नेपाल फर्कन चाहे भने जरिवाना तिर्नुका साथै कानूनले तोकेको सजाय भोग्नुपर्ने अवस्था हुन्छ ।
अहिले नेपालमा समेत लकडाउन रहेकाले उद्धार गरिएपछि पनि कहाँ र कसरी व्यवस्थापन गर्ने भन्ने सन्दर्भमा सरकारले आवश्यक ठानेमा संघले आवश्यक समन्वय र सहयोग गर्ने स्पष्ट पारेको छ । विभिन्न भिसामार्फत त्यहाँ जाने र अवैधानिकरूपमा बस्नेको संख्या कुवेत, मलेशिया, ओमान, कतार, युएईलगायत युरोप, अमेरिका, अष्ट्रेलियालगायतका देशमा उत्तिकै रहेकोे छ ।
Comment