राष्ट्र बैंकद्धारा पेमेन्ट गेटवेको अध्ययन शुरू « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

राष्ट्र बैंकद्धारा पेमेन्ट गेटवेको अध्ययन शुरू



काठमाडौं । नेपाल राष्ट्र बैंकले अनलाइन भुक्तानीलाई सहज बनाउन आफ्नै राष्ट्रिय भुक्तानी प्रणाली ‘नेशनल स्वीच’ (राष्ट्रिय भुक्तानी द्वार) स्थापना गर्ने भएको छ । यसका लागि राष्ट्र बैंकको भुक्तानी व्यवस्थापक विभागका निर्देशक सुवास घिमिरेको संयोजकत्वमा गठित समितिले प्रारम्भिक अध्ययन गरिरहेको छ । विद्युतीय कारोबारलाई स्वचालित र छरितो बनाउन राष्ट्रिय भुक्तानी प्रणाली स्थापना गर्न लागिएको हो । यद्यपि, स्वीचले पहिलो चरणमा सरकारको राजस्व संकलन र भुक्तानीको मात्र काम गर्ने राष्ट्र बैंकको भनाइ छ ।

राष्ट्र बैंकको भुक्तानी व्यवस्थापक कार्यकारी निर्देशक रेवतीप्रसाद नेपालका अनुसार उक्त समितिले स्वीच सञ्चालन गर्दा केकस्ता अप्ठ्यारा छन् भन्ने विषयमा अध्ययन गर्नेछ । ‘समितिको प्रतिवेदन तयार भएपछि त्यसमाथि अर्थ मन्त्रालय, सूचनाप्रविधि केन्द्रसँग पनि छलफल हुन्छ । त्यसैका आधारमा नीति बनाउँछौं,’ उनले भने, ‘नेशनल स्वीच भुक्तानी द्वारका लागि काम गर्ने एउटा प्रणाली हो । शुरूमा यो राजस्व संकलन र भुक्तानीलाई व्यवस्थित गर्न केन्द्रित हुनेछ । दोस्रो चरणमा सबै बैंकको एउटै स्वीच प्रणाली बनाउने योजना छ ।’

उनले ई–सेवा, खल्ती, आईएमइ–पेलगायत वालेटबाट राजस्व तिर्न सकिए पनि ती त्यति उपयोगी नभएको बताए । ‘यस्ता वालेटलाई पनि यही प्रणालीमा जोड्न सकिन्छ । त्यसैले वालेट र कार्डलाई नेशनल स्वीचमा जोडेर राजस्व संकलन तथा विद्युतीय कारोबारलाई सहज र भर पर्दो बनाउँछौं,’ उनले बताए ।
नेशनल स्वीच आएपछि राजस्व संकलन अनलाइनमार्फत गर्न सहज हुने उनको भनाइ छ । उनले भने, ‘दूरदराजमा बस्ने मानिस थोरै रकमको राजस्व भुक्तानी गर्न कार्यालयसम्म पुग्नुपर्ने बाध्यता छ । यो प्रणाली आएपछि उनीहरूलाई राजस्व कार्यालयसम्म धाइराख्नु पर्दैन ।’

नेपालका बैंकहरूले अन्तरराष्ट्रिय स्तरको सुरक्षित राष्ट्रिय भुक्तानी प्रणाली बनाउन निकै अघिदेखि माग गर्दै आएका छन् । नेशनल स्वीचमा राजस्व संकलन मात्र नभएर बैंक तथा वित्तीय संस्थामार्फत हुने सबै कारोबारलाई समाबेश गर्न उनीहरूको जोड छ ।

नेपालको आफ्नै भुक्तानी प्रणाली (पेमेन्ट गेटवे) नहुँदा कार्ड तथा अन्य माध्यमबाट हुने विद्युतीय कारोबारका लागि बैंकहरू अमेरिकी एक्सप्रेसजस्ता विदेशी संस्थामा जानुपर्ने बाध्यता थियो । ‘नेशनल स्वीच भएमा नेपाली बैंकले पनि अन्य देशमा सहजै चल्ने कार्ड जारी गर्न सक्छन् भने विदेशी कार्ड पनि सहजै स्वीकार गर्न सक्छन् । विदेशी कम्पनीका लागि तिर्नुपर्ने रकमसमेत स्वदेशमै रहन्छ,’ नबिल बैंकका एक अधिकारीले बताए ।

प्रकाशित : २२ माघ २०७६, बुधबार ०७:५१