सानिमा बैंकले कमायो १ अर्ब बढी नाफा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

सानिमा बैंकले कमायो १ अर्ब बढी नाफा



काठमाडौं । सानिमा बैंकले चालू आवको ६ महिनासम्म रू. १ अर्ब १४ करोड ७४ लाख ६५ हजार खुद नाफा गरेको छ । यो नाफा गत आर्थिक वर्षको यसै अवधिमा रू. ९८ करोड २० लाख ८६ हजार थियो । यस वर्ष गत वर्षभन्दा १६ दशमलव ८४ प्रतिशत बढी नाफा गरेको हो ।

सञ्चालन मुनाफा यस वर्ष १६ दशमलव ५१ प्रतिशत बढी भएको छ । गत वर्ष रू. १ अर्ब ३९ करोड ३७ लाख ४० हजार रहेको सञ्चालन मुनाफा यस वर्ष रू. १ अर्ब ६२ करोड ३७ लाख ९४ हजार रहेको छ । यस वर्ष १० प्रतिशत बोनस पश्चात बैंकको चुक्तापूँजी रू. ८ अर्ब ८० करोड १३ लाख ८० हजार पुगेको छ । जगेडा कोष रकम ८ प्रतिशत बढी रू. २ अर्ब ४२ करोड २ लाख ५० हजार कायम भएको छ ।

बैंकले यस वर्ष रू. ९९ अर्ब ३० करोड ५ लाख निक्षेप संकलन गरेको छ भने रू. ८८ अर्ब ७१ करोड २९ लाख २७ हजार कर्जा प्रवाह गरेको उल्लेख छ । गत वर्षको तुलनामा यस वर्ष निक्षेप ११ प्रतिशत र कर्जा प्रवाह ८ दशमलव ९६ प्रतिशत बढी भएको हो । यस वर्ष खुद ब्याज आम्दानी रू. २ र्ब १६ करोड ७९ लाख ८६ हजार भएको छ । यो रकम गत वर्षको ६ महीनामा रू. १ अर्ब ९० करोड ९४ लाख ४० हजार थियो ।

यस वर्ष बैंकको नाफासँगै अन्य परिसूचकहरुमा पनि वृद्धि देखिएको हो । निष्क्रिय कर्जाको अनुपात भने गत वर्षभन्दा यस वर्ष बढेको छ । गत वर्ष यस अवधिसम्म शून्य दशमलव २४ प्रतिशत रहेको निष्क्रिय कर्जा अनुपात यस वर्ष शून्य दशमलव ४१ कायम रहेको छ ।

रू. १ अर्बभन्दा बढी खुद नाफा गरेको यस बैंकको पुस मसान्तसम्मको वितरणयोग्य नाफा भने रू. ९५ करोड ९ लाख २२ हजार रहेको छ । दोस्रो त्रैमाससम्म बैंकको प्रतिशेयर आम्दानी रू. २६ दशमलव १५ र प्रतिशेयर नेटवर्थ रू. १३९ दशमलव शून्य ६ छ । बैंकले २३ दशमलव ३० प्रतिशत तरलता कायम गरेको छ ।

प्रकाशित : १० माघ २०७६, शुक्रबार १३:५८