मुक्तिनाथ विकास बैंकको १८.५३ प्रतिशत लाभांश पारित « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

मुक्तिनाथ विकास बैंकको १८.५३ प्रतिशत लाभांश पारित



काठमाडांै । मुक्तिनाथ विकास बैंकको १३ औँ वार्षिक साधारणसभा पोखरामा सम्पन्न भएको छ । सभाले गत वर्षको मुनाफाबाट आफ्नो सेयरधनीहरुलाई वितरण गर्ने भनी प्रस्ताव गरिएको कुल १८.५३ प्रतिशत लाभांश पारित गरेको छ ।

प्रस्तावित लाभांशमा चुक्तापुँजी ३ अर्ब ६ करोड ४७ लाख ६० हजार १२३ रुपैयाँको १७.६० प्रतिशतले हुन आउने ६४ करोड ७२ लाख ७७ हजार ३३८ रुपैयाँबराबरको बोनस सेयर र ०.९३ प्रतिशतले हुन आउने ३ करोड ४० लाख ६७ हजार २२८ रुपैयाँबराबरको नगद लाभांश (लाभांश प्रयोजनका लाग)० रहेको सभामा जानकारी दिइयाे ।

सभाले चुक्तापुँजीको २० प्रतिशतले हुन आउने हकप्रद सेयर जारी गर्ने प्रस्ताव पनि पारित गरेको छ । बोनस सेयर र २० प्रतिशत हकप्रद सेयर जारीपछि बैंकको चुक्तापुँजी ४ अर्ब ३२ करोड ४९ लाख ८९ हजार ४८६ रुपैयाँ पुर्याउने प्रस्ताव पनि सभाले पारित गरकाे हो ।

यसैगरी सभाले विशेष प्रस्तावमा राखिने अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थाहरुसँग एकआपसमा प्राप्ति वा समाहित तथा गाभ्ने वा गाभिने प्रयोजनका लागि बैंक तथा वित्तीय संस्थाको पहिचान गर्ने, सहमतिपत्रमा हस्ताक्षर गर्ने, सोका आधारमा सैद्धान्तिक स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकमा निवेदन दिने, सम्पत्ति दायित्वको मूल्यांकन गर्न परामर्शदाता, मूल्यांकनकर्ता, लेखापरीक्षक नियुक्त गर्नेलगायतका आवश्यक कार्यका लागि सञ्चालक समितिलाई अख्तियार दिने एजेन्डामा पनि पारित गरेको छ। बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युम्न पोखरेलले बैंकको वर्तमान अवस्थाबारे जानकारी गराएका थिए ।

काे को आए नयाँ सञ्चालक ?

पोखरामा सम्पन्न सभामा बैंकको नयाँ सञ्चालक समिति पनि गठन गरेको छ । सभाले अध्यक्ष  पदमा भरतराज ढकाल निर्विरोध निर्वाचित भए भने । अन्य नयाँ सञ्चालक समितिमा गजेन्द्रमान श्रेष्ठ, रविन्द्रमान श्रेष्ठ, निर्मलाकुमारी केसी (कार्की) र शालिग्राम मिश्र चयन भएका छन् ।

प्रकाशित : ३० मंसिर २०७६, सोमबार १६:३७