बीमा कम्पनीको नाफा २२ प्रतिशतले वृद्धि « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

बीमा कम्पनीको नाफा २२ प्रतिशतले वृद्धि



काठमाडौं । चालू आर्थिक वर्ष (आव) को पहिलो ३ महीनामा निर्जीवन बीमा कम्पनीहरूको नाफा २१ दशमलव ९८ प्रतिशत बढेको छ । १९ निर्जीवन बीमा कम्पनीले यस अवधिमा रू. ८० करोड २७ लाख नाफा कमाएका छन्, जुन गत आवको सोही अवधिको नाफाभन्दा रू. १४ करोड ४६ लाख बढी हो ।

गत आवको समीक्षा अवधिमा निर्जीवन बीमा कम्पनीहरूले रू. ६५ करोड ८१ लाख नाफा कमाएका थिए । कम्पनीहरूले हालै सार्वजनिक गरेको चालू आवको पहिलो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो । हाल नेपालमा २० निर्जीवन बीमा कम्पनी छन् । तर, हालसम्म भारतीय स्वामित्वको दि ओरियन्ट इन्स्योरेन्सले भने यस्तो वित्तीय विवरण सार्वजनिक गरेको छैन ।

निर्जीवन बीमा कम्पनीहरूले समीक्षा अवधिमा रू. ७ अर्ब बराबरको बीमाशुल्क संकलन गरेका छन्, जुन गत आवको सोही अवधिको तुलनामा ७ दशमलव ६४ प्रतिशतले बढी हो । गत आवमा यस्ता बीमा कम्पनीहरूले रू. ६ अर्ब ५० करोड बीमाशुल्क संकलन गरेका थिए । तथ्यांकअनुसार निर्जीवन बीमा कम्पनीहरूको बीमाशुल्क वृद्धिदरभन्दा नाफाको वृद्धिदर बढी देखिएको छ । समीक्षा अवधिमा कम्पनीहरूको बीमाशुल्क ७ दशमलव ६४ प्रतिशतले बढ्दा नाफा भने करीब २२ प्रतिशतले बढेको छ ।

गत माघदेखि सम्पत्ति बीमाको बीमा पहिलेभन्दा ६० प्रतिशत सस्तोमा गर्ने व्यवस्था गरिएको छ, त्यसको प्रभावले पनि बीमाशुल्कको वृद्धिदर कम देखिएको कम्पनीका अधिकारीहरू बताउँछन् । युनाइटेड इन्स्योरेन्सका कायम मुकायम प्रमुख कार्यकारी अधिकृत (सीईओ) रमेशकुमार भट्टराईले भने, ‘शुल्क सस्तो बनाउँदा यो वर्ष विक्री हुने बीमालेखको संख्या बढेको छ । तर, त्यसको अनुपातमा बीमाशुल्क बढेको छैन ।’

पहिलो त्रैमासमा सबैभन्दा बढी नाफा शिखर इन्स्योरेन्स कम्पनीले कमाएको देखिएको छ । यस्तै, नेको इन्स्योरेन्स, नेशनल इन्स्यारेन्स र राष्ट्रिय बीमा कम्पनी पनि नाफा कमाउनेमा अगाडि छन् । तथ्यांकअनुुसार यी चार कम्पनीको खुद नाफा रू. ६ करोडभन्दा बढी छ । शिखर इन्स्योरेन्सले समीक्षा अवधिमा रू. १२ करोड १४ लाख खुद नाफा कमाएको छ । नेकोले रू. ७ करोड ५३ लाख र नेशनल इन्स्योरेन्सले रू. ६ करोड ४१ लाख खुद नाफा कमाएका छन् । यसैगरी सरकारी स्वामित्वको राष्ट्रिय बीमा कम्पनीले रू. ६ करोड १० लाख खुद नाफा कमाएको छ ।

समीक्षा अवधिमा तीन निर्जीवन बीमा कम्पनीको नाफा भने घटेको छ । नाफा घट्ने कम्पनीहरूमा लुम्बिनी जनरल, हिमालयन जनरल र पु्रडेन्सियल इन्स्योरेन्स रहेका छन् । उनीहरूको नाफा गत आवको समीक्षा अवधिको तुलनामा कम छ । लुम्बिनी जनरल इन्स्योरेन्सले गत आवको समीक्षा अवधिमा रू. ४ करोड १८ लाख नाफा कमाएको थियो । तर, त्यो अहिले रू. २ करोड ७४ लाखमा खुम्चिएको छ । यस्तै, गत आवको समीक्षा अवधिमा रू. ४ करोड ५ लाख नाफा कमाएको हिमालयन जनरलले अहिले रू. ३ करोड १९ लाख नाफा कमाएको छ । गत आवको समीक्षा अवधिमा रू. ३ करोड ३२ लाख नाफा कमाएको पु्रडेन्सियलको नाफा अहिले रू. ३ करोड १२ लाखमा सीमित भएको छ ।

नयाँ तीन निर्जीवन बीमा कम्पनीमध्ये अजोड इन्स्योरेन्स नाफा कमाउने सन्दर्भमा सबैभन्दा बलियो देखिएको छ । समीक्षा अवधिमा अजोडले रू. ७७ लाख खुद नाफा कमाएको छ । समग्रमा समीक्षा अवधिमा तीन नयाँ कम्पनीले रू. २ करोड १० लाख नाफा कमाएका छन् । अजोड, सानिमा जनरल र जनरल इन्स्यारेन्सले २०७५ असारदेखि व्यवसाय सञ्चालन गरेका थिए । यो तस्बिर तथा समाचार आजको आर्थिक अभियान दैनिकमा प्रकाशित छ ।

प्रकाशित : १६ मंसिर २०७६, सोमबार ०७:५६