दुईवटा नागरिकता बनाएर ३४ करोड ठगी « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

दुईवटा नागरिकता बनाएर ३४ करोड ठगी



काठमाडाै । कृषि विकास बैंक स्वयम्भू शाखाका तत्कालीन अधिकृत केदार आफ्नै नाम बदलेर कृत्रिम ग्राहक बने । त्यसअघि तेजबहादुर थापा नाममा नागरिकता निकाले, पासपोर्ट बनाए । आफ्नै बैंकमा त्यस नाममा खाता खोले । विदेशबाट रेमिट्यान्स आएको भन्दै पैसा झिक्दै त्यता हाले ।

एक–दुई हजार, लाख होइन…, करोड पनि होइन, करिब ३४ करोड रुपैयाँ । यत्रो ठग्दा पनि बैंकका न शाखा प्रमुखले पत्तो पाए, न केन्द्रीय कार्यालयले । जब उनी राजीनामा दिएर विदेश पलायन भए, बल्ल पोल खुल्यो ।

अब उनी अख्तियार दुरुपयोग अनुसन्धान आयोगको फन्दामा परिसकेका छन् । गौतमसहित ८ जनाविरुद्ध जनही ३४ करोड बिगोसहित अदालतमा मुद्दा दायर गरिएको अख्तियार प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए । गौतमको फर्जी कारोबार र रकम हिनामिनाबारे चुपचाप बसेकाले स्वयम्भूका तत्कालीन शाखा प्रबन्धक भरतबहादुर बानियाँविरुद्ध पनि अख्तियारले मुद्दा हालेको छ । गौतम र बानियाँ दुवैलाई १० वर्ष कैद माग गरिएको छ ।

गौतमले आफ्नो नक्कली नाम तेजबहादुरको खातामा ट्रान्सफर गरेको रकम कृषि विकास बैंकका विभिन्न शाखा कार्यालयबाट र अन्य विभिन्न बैंकबाट इलेक्ट्रोनिक चेक क्लियरिङ (ईसीसी) दुरुपयोग गरी भुक्तानी लिएको अख्तियारको अनुसन्धानले देखाएको छ ।

गौतम नक्कली नामबाट नागरिकता र राहदानी बनाएर विदेश फरार हुने योजनाअनुरूप भारत गएर बसेका थिए । उनलाई भारतको सिलिगुढीबाट पक्राउ गरिएको थियो । उनी पुर्पक्षका लागि थुनामा छन् । गौतमविरुद्ध अख्तियारले योजनाबद्ध ढंगबाट बैंकिङ प्रणालीको पासवर्ड चोरी गरी बैंकिङ सिस्टम दुरुपयोग गर्दै रकम हिनामिना गरेको र बैंकलाई नोक्सान पु‍¥याएको अभियोग लगाएको छ ।

शाखा अधिकृत गौतमसमेतले ०७१ असोजदेखि ०७२ असारसम्ममा गैरकानुनी तवरबाट ३३ करोड ९३ लाख रुपैयाँ निकाली बैंकलाई हानि पुर्याएको अख्तियारको दाबी छ । बानियाँले शाखा प्रबन्धकका हैसियतले रेमिट्यान्सलगायत आर्थिक कारोबार, कर्मचारी रेखदेख र नियन्त्रण, व्यवस्थापन र अभिलेख जाँच र दायित्व वहन नगरेको अख्तियारको आरोपपत्रमा उल्लेख छ । यो समाचार आजको अन्नपूर्ण पोष्टमा प्रकाशित छ ।

प्रकाशित : १० मंसिर २०७६, मंगलवार ०७:५९