ग्लोबल आइएमई बैंकको १३औं वार्षिक साधारण सभा सम्पन्न, २५.५ प्रतिशत लाभांश पारित « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

ग्लोबल आइएमई बैंकको १३औं वार्षिक साधारण सभा सम्पन्न, २५.५ प्रतिशत लाभांश पारित



काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडको १३औं वार्षिक साधारण सभा सोमबार सम्पन्न भएको छ । आ.व.२०७५/७६ मा आफ्ना शेयरधनीहरुलाई १२.७५ प्रतिशत बोनश शेयर र १२.७५ प्रतिशत नगद लाभांश गरी २५.५ प्रतिशत लाभांश दिने निर्णय पारित गर्दै बैंकको १३औं वार्षिक साधारण सभा सम्पन्न भएको हो।

ग्लोबल आइएमई बैंकले आ.ब.२०७५÷७६ मा २ अर्ब ७६ करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो। बोनश शेयर वितरण पश्चात बैंकको चुक्ता पुँजी ११ अर्व ७६ करोड रुपैयाँ पुग्नेछ ।

साथै, साधारण सभाले जनता बैंक नेपाल लिमिटेडलाई ग्लोबल आइएमई बैंक लिमिटेडमा गाभ्ने प्रस्ताव पारित गरेको छ ।

साधारण सभाबाट पारित भएसँगै दुई बैक मर्जरका लागि नेपाल राष्ट्र बैकसमक्ष अन्तिम
स्वीकृती प्राप्त गरी ग्लोबल आईएमइ बैक लिमिटेडको नामबाट एकिकृत कारोवारका लागि अन्तिम तयारी भइरहेको छ ।

साधारण सभाले बैंकको अधिकृत पूँजी रु.१६ अर्बलाई बृद्धि गरी रु.२५ अर्ब कायम गर्ने विशेष प्रस्तावसमेत पारित गरेको छ ।

साधारण सभामा बोल्दै बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले बैंकले मंसिर महिनाभित्र एकीकृत कारोबार सुरुगर्ने योजना रहेको बताउनुभयो ।

मर्जरपछि ग्लोबल आइएमई देशकै सबै भन्दा ठूलो र सबल बैंक बन्ने बताउँदै, उहाँले शेयरधनीको
आकांक्षाअनुरुप आगामी दिनमा अझै सर्वसुलभ बैंकिङ्क सेवा प्रदान गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो।

यी दुई बैंकले गत असार २० गते मर्जरका लागि प्रारम्भिक सहमती गरेका थिए भने कार्तिक ८ गते
मर्जरसम्बन्धी अन्तिम सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए ।

मर्जर पछि बन्ने बैंकको नाम ग्लोबल आइएमई बैंक, अध्यक्ष चन्द्रप्रसाद ढकाल हुने सहमति गरिएको छ भने सञ्चालक समितिमा ग्लोबलको तर्फबाट ५ जना र जनताको तर्फबाट २ जना रहने सहमति भएको छ ।

त्यस्तै मर्जरपछि बन्ने बैंकको कार्यकारी प्रमुख अधिकृत परशुराम कुँवर क्षेत्री र वरिष्ठ नायव कार्यकारी प्रमुख अधिकृत महेश शर्मा ढकाल हुने सहमति भएको छ ।

मर्जरपछि ग्लोबल आइएमई बैंक नेपालकै ठूलो बैंक बन्नेछ । बैंकको चुक्ता पुँजी करिब १९ अर्ब, कुल निक्षेप २ खर्ब १० अर्ब भन्दा बढी र कुल कर्जा लगानी करिब २ खर्ब पुग्नेछ । त्यस्तै बैंकको शाखा सञ्जाल करिब ३०० तथा सेवा केन्द्रको संख्या ८५० भन्दा बढी हुनेछ ।

बैंकमा ३ हजार २५० भन्दा बढी कर्मचारीहरु रहने छन् । त्यस्तै बैंकको २५६ एटीएम, २४१ शाखा रहित बैंकिङ्ग सेवा, ३३ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर ३ वटा बैदेशिक सम्पर्क कार्यालय र करिब २० लाख ग्राहक संख्या रहने छन्।

प्रकाशित : २ मंसिर २०७६, सोमबार २०:४८