एटीएम ह्याक प्रकरणः आजबाट सिंगापुरका विज्ञहरूले अनुसन्धान थाल्दै « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

एटीएम ह्याक प्रकरणः आजबाट सिंगापुरका विज्ञहरूले अनुसन्धान थाल्दै



काठमाडौं । चिनियाँ ह्याकरको एक समूहले नेपालमा केही बैंकको एटीएम मार्फत करोडौं रुपैयाँ झिकेको घटनाबारे सिंगापुरको भेरीजोन कम्पनीका प्रतिनिधिले बिहीबारदेखि फरेन्सिक अनुसन्धान शुरु गर्ने भएका छन् ।

बुधवार बेलुका नेपाल आइपुगेका दुई विज्ञले चोरीको घटना कसरी भयो, कुन बैंकको क्षति भयो र कसले बेहोर्नु पर्ने लगायतबारे यथार्थ विवरण दिने नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम्स लिमिटेड (नेप्सा) का प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रवीण क्षत्रीले बताए ।

नेप्सका अनुसार यो संस्थाले भुक्तानी कार्ड सम्बन्धी अनुसन्धान गर्ने गर्छ । ‘यो संस्थालाई सिंगापुरको पीसीआई काउन्सिलले स्वीकृत गरेको हो । यस्तो घटनाबारे छानविन गर्ने संस्था भएकाले हामीले उनीहरूलाई बोलाएका हौं,’ सीईओ क्षत्रीले भने, ‘फरेन्सिक अनुसन्धानकर्ताले बिहीवारदेखि नै अध्ययन शुरू गर्नेछन् । उनीहरूले छिटोमा ३ दिन वा बढीमा १० दिन पनि लगाउन सक्नेछन् ।’

राष्ट्र बैंकले गत सोमवार नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम्स लिमिटेड (नेप्स) लाई ह्याकमार्फत भएको कारोबारको फरेन्सिक ल्याब टेस्ट गर्न पत्र पठाएको थियो । फरेन्सिक ल्याब टेस्ट गर्न १० दिनसम्म लाग्ने र त्यसको रिपोर्ट आएपछि यस घटनाबारे विस्तृत जानकारी हुने राष्ट्र बैंकको भनाइ छ ।

यससँगै नेप्सले बुधवार आधिकारिक सूचना जारी गर्दै जुन बैंकको भिषा कार्ड हो सोही बैंकको एटीएमबाट मात्र सञ्चालन हुने जानकारी दिएको छ। यो समाचार आजको अभियान दैनिकमा छापिएको छ ।

प्रकाशित : १९ भाद्र २०७६, बिहीबार ०६:४१