लघुवित्तमा मर्जरको लहरः सूर्योदय र त्रिलोक गाभिने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

लघुवित्तमा मर्जरको लहरः सूर्योदय र त्रिलोक गाभिने



काठमाडौं । सूर्योदय लघुवित्त वित्तीय सस्था लिमिटेड र त्रिलोक लघुवित्त वित्तीय संस्था लिमिटेड गाभिने भएको छ । स्याङजा मुख्यालय रहेको सूर्योदय र नवलपरासीलाई प्रमुख कार्यक्षेत्र बनाएको त्रिलोक गाभिन (मर्जर०)का लागि सहमति पत्रमा हस्ताक्षर भएको छ ।

सूर्योदयका अध्यक्ष अनन्तकुमार श्रेष्ठ र त्रिलोकका अध्यक्ष लेखनाथ खनियाले बिहिबार पोखरामा सह्मति पत्रमा हस्ताक्षर गर्नुभएको हो । दुबै पक्षले सहमति पत्र साटासाट गरी लघुवित्तको बजारमा उत्कृष्ट संस्थाका रुपमा स्थापित हुने विश्वास व्यक्त गरेका छन् ।

सूर्योदयका अध्यक्ष श्रेष्ठले मुलुकको समग्र वित्तीय प्रणालीको सम्बद्र्धन गर्दै वित्तीय प्रणालीलाई सुशासित, सुरक्षित, स्वस्थ, कुशल तथा सक्षम बनाई लघुवित्त क्षेत्रको स्थायित्व कायम गर्ने उद्धेश्यले मर्ज गरिएको बताउनुभयो ।

त्रिलोकका अध्यक्ष खनियाले मर्जपछि दुवै संस्थाको सम्पति तथा दायित्व मूल्याङ्कन रिपोर्टको आधारमा शेयर स्वाप रेसियो कायम गर्ने सहमति भएको बताउनुभयो ।

मर्जपछि बन्ने संस्थाको अध्यक्षमा त्रिलोकबाट अध्यक्ष लेखनाथ खनिया, प्रमुख कार्यकारी अधिकृतमा सूर्योदयका मोक्ष प्रसाद पंगेनी र त्रिलोकका राजेन्द्र न्यौपाने नायव कार्यकारी अधिकृत रहने सहमति भएको छ । नेपाल राष्ट्र बैंकबाट घ बर्गका दुवै संस्था गाभिएपछि बन्ने संस्थाको नाम सुर्योदय लघुवित्त वित्तीय सस्था लिमिटेड रहने र मुख्य कार्यालय गण्डकी प्रदेशको पोखरामा रहने सहमति भएको छ ।

सूर्योदयले अहिलेसम्म २३ जिल्लामा कार्यक्षेत्र बनाएको छ । त्रिलोकले १० जिल्लामा वित्तीय कारोबार गर्दै आएको छ । प्रमुख कार्यकारी अधिकृत पंगेनीले गाभिएपछि ६३ शाखामा हुने जानकारी गराउनु भयो । प्रमुख कार्यकारी अधिकृत पंगेनीका अनुसार गाभिएपछि वित्तीय संस्थाको सदस्य संख्या ५४ हजार हुनेछ । लगानी २ अर्ब १३ करोड रुपैयाँ पुग्नेछ ।

प्रकाशित : २० असार २०७६, शुक्रबार ०७:३४