काठमाडाै । अप्पर तामाकोसी हाइड्रो पावर कम्पनीले आगामी चैत दोस्रो साताबाट सर्वसाधारण तथा स्थानीयका लागि सेयर जारी गर्ने भएको छ । दोलखामा निर्माणाधीन ४ सय ५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनामा लगानी गर्न स्थानीय र सर्वसाधारणलाई छुट्ट्याइएको क्रमशः १० र १५ प्रतिशत सेयर जारी हुनेछ । नेपाल धितोपत्र बोर्डमा विवरण पेस भएकाले फागुनभित्र स्वीकृत आउने कम्पनीले जानकारी दिएको छ । कम्पनीका अनुसार चैतभित्र निष्कासन गरी अन्तिम साताबाट बाँडफाँड गर्ने योजना छ । सेयर खरिद गर्न अन्य बैंक तथा वित्तीय संस्था, जलविद्युत् कम्पनीले डि–म्याट खाता अनिवार्य गरेका छन् । तर, तामाकोसीको हकमा भने त्यो लागू हुने छैन । अर्थात्, डि–म्याट खाता नहुने स्थानीयले पनि कम्पनीको सेयर किन्न पाउँछन् ।
कम्पनीले स्वीकृतका लागि विवरण पेस गरेकाेमा थप कमेन्ट पठाइएकाे बाेर्डका प्रवक्ता निरज गिरीले बताए । ‘कमेन्ट फर्किसकेकाे जानकारी भएकाे छ, एक साता वा बढीमा १० दिनभित्र स्वीकृत दिइनेछ,’ उनले भने ।’ आयोजना प्रभावित स्थानीयले जारी पुँजीको १० प्रतिशत ९१ अर्ब ५ करोड ९० लाख रुपैयाँ १ करोड ५ लाख ९० हजार कित्ता र १५ प्रतिशत ९१ अर्ब ५८ करोड ८५ लाख रुपैयाँ० १ करोड ५८ लाख ८५ हजार कित्ता सेयर पाउनेछन् । स्थानीयलाई अतिप्रभावित, प्रभावित र कम प्रभावित गरी ३ श्रेणीमा विभाजन गरेर सेयर वितरण गरिनेछ । गौरीशंकर गाउँपालिकाको लामाबगर र गोंगर अतिप्रभावित, प्रवेश मार्ग तथा प्रसारण लाइनले छोएको प्रभावित र कतै नछोइएको क्षेत्र कम प्रभावितमा राखिएको छ ।
स्थानीयले ३० देखि ३ सय कित्तासम्म सेयर भर्न सक्नेछन् । कूल परेको आवेदनको आधारमा ३ प्रतिशत अतिप्रभावित, १४ प्रतिशत प्रभावित र १ प्रतिशत सेयर कम प्रभावितले पाउनेछन् । प्राप्त आवेदनका आधारमा सेयर बाँडफाँडको टुङ्गो लाग्नेछ । कम्पनीले चालू आर्थिक वर्षको सुरुमा स्थानीयलाई छुट्ट्याइएको सेयर जारी गर्ने तयारी गरेको थियो । तर, स्थानीय तह निर्वाचनपछि जिल्ला समन्वय समितिको गठनमा भएको ढिलाई र धितोपत्र बोर्डको नियमावली संशोधन हुँदा समय लम्बिएको हो ।
यसअघि माघभित्र सेयर जारी गरी फागुनसम्म बाँडफाँड गर्ने योजना थियो । सुरुमा स्थानीय र पछि सर्वसाधारणका लागि १५ प्रतिशत सेयर निष्कासन हुनेछ । कम्पनीले यसअघि कर्मचारी सञ्चय कोषमा रकम जम्मा गर्ने सञ्चयकर्ता, नेपाल विद्युत प्राधिकरणका कर्मचारी, आयोजनामा ऋण लगानी गर्ने संस्थाका कर्मचारीका छुट्ट्याएको २४ प्रतिशत सेयर बाँडफाँड गरेको छ । सञ्चयकर्ता, ऋण लगानी गर्ने संस्था, प्राधिकरणका कर्मचारी र स्थानीयका लागि सेयर जारी गर्न बोर्डबाट एकै पटक स्वीकृति लिइएको थियो ।
तर, रोल्वालिङ खोलाको पानी मिसाएर थप विद्युत् उत्पादन गर्ने योजनापछि स्थानीय र सिभिल ठेकेदार सिनो हाइड्रोमा कार्यरत कर्मचारीले पनि सेयर पाउनुपर्ने भन्दै विरोध गरेका थिए । विरोधका कारण त्यतिबेला स्थानीयका लागि छुट्ट्याइएको सेयर निष्कासन रोकिएको थियो । समयमा निष्कासन नहुँदा कम्पनीको पुँजी परिचालन र आयोजनाको खर्च व्यवस्थापनमा समस्या सुरु भएको छ । सेयर जारी गरेर २ अर्ब ६४ करोड ७५ लाख रुपैयाँ जम्मा गर्ने लक्ष्य छ ।
Comment