युरोपमा आप्रवासी संकट : स्यूटाका स्थानीय दबाबमा  « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

युरोपमा आप्रवासी संकट : स्यूटाका स्थानीय दबाबमा 



एजेन्सी । स्पेनको स्युटामा रोजगारी र नयाँ जीवनको खोजीमा पुगेका दशौँ हजार आप्रवासीहरू मोरक्कोसँग सीमा जोडिएको क्षेत्रमा अलपत्र परेका छन् । युरोपको मुख्य भूभाग उनीहरूको सामुन्न भए पनि त्यहाँ पुग्ने बाटो बन्द हुँदा अलपत्र परेका हुन् ।

खासगरी मोरक्कोसँग सीमा जोडिएको स्युटा, मेलिल्लासँगै उत्तर अफ्रिकी तटमा रहेको स्पेनको दुईवटा एक्स्क्लेभ मध्ये एक हो । भौगोलिक रूपमा अफ्रिकामा भए पनि यो युरोपेली संघको बाह्य सीमाको हिस्सा मानिन्छ । भौगोलिक अवस्थाले यसलाई लामो समयदेखि युरोपको सबैभन्दा संवेदनशील आप्रवासन प्रवेशद्वारमध्ये एक मानिन्छ । 

वर्षौंदेखि कागजातविहीन आप्रवासीहरूले सीमा बार चढेर वा समुद्री तटीय अवरोधहरू पौडिएर पार गर्दै स्युटामा प्रवेश गर्ने प्रयास गरेका गरिरहेका छन । त्यहाँबाट उनीहरू स्पेनको मुख्य भूभाग र युरोपका अन्य देशतर्फ जाने गर्छन । हाल मोरक्कोले अन्तर्राष्ट्रिय संस्थाहरूको नजरमा अफ्रिकाको सबैभन्दा तीव्र रूपमा विकास भइरहेको अर्थतन्त्रहरूमध्ये एकको रूपमा प्रतिष्ठा कमाएको छ । तर उत्तरी मोरक्कोका सीमावर्ती क्षेत्र जहाँ औद्योगिक विकास कम भएपनि धेरै युवाहरू अझै राम्रो भविष्यको आशामा युरोपलाई नै आफ्नो गन्तव्य ठानिरहेका छन् । 

२० वर्ग किलोमिटरभन्दा कम क्षेत्रफल र करिब ८० हजार जनसंख्या भएको सानो सहर स्युटा फेरि एकपटक युरोपको आप्रवासन संकटको अग्रपंक्तिमा पुगेको छ । धेरैजसो अनियमित आप्रवासीहरूको अन्तिम गन्तव्य स्युटा होइन, बरु स्पेनको मुख्य भूभाग र त्यसपछि युरोपका अन्य देशहरू हुन् । तर त्यहाँ पुग्नु निकै कठिन यात्रा पार गर्नुपर्ने हुन्छ ।

स्पेनका अन्य सहरहरूभन्दा फरक, स्युटाबाट मुख्य भूभाग जान वा आउन यात्रुले शेङ्गेन क्षेत्रमा कानुनी रूपमा प्रवेश गर्न वैध कागजात देखाउनुपर्छ । स्युटास्थित अस्थायी आप्रवासी स्वागत केन्द्रमा रहेका धेरैले आफूहरू केवल रोजगारीको एउटै उद्देश्यका लागि आएको बताउने गरेका छन् । 

मोरक्कोमा आप्रवासी हसनले भने,‘म काम गर्न चाहन्छु। मोरक्कोमा मैले कुनै काम पाउन सकिनँ। स्पेनमा जे काम पाए पनि गर्छु—फर्निचर बनाउने, नाइको पसलमा काम गर्ने वा अन्य कुनै पनि। म केवल जीविकोपार्जन गर्न चाहन्छु ।’ स्युटामै जन्मिएकी र हुर्किएकी क्रिस्टिनाले यो सहर लामो समयदेखि विभिन्न संस्कृतिहरू शान्तिपूर्वक सहअस्तित्वमा बसेको ठाउँ भएको बताइन्। उनका अनुसार सामाजिक व्यवस्था पनि स्थिरता भएपनि हाल ठूलो आप्रवासी आगमनले स्थानीय बासिन्दामाथि दबाब सिर्जना गरेको छ । 

उनले भनिन्,‘स्युटा धेरै सानो सहर हो, तर यहाँ चारवटा संस्कृतिका मानिसहरू सधैं मेलमिलापका साथ बसेका छन्। हामीबीच कुनै समस्या थिएन। यहाँ आउनेहरूलाई स्पेनमा काम, खाना र बस्ने ठाउँ पाइन्छ भनेर भनिएको रहेछ। तर त्यो सबै गलत जानकारी थियो।’ स्युटाका धेरै स्थानीयले आप्रवासीहरूको राम्रो जीवनको चाहना रहेको बुझेपनि उक्त सहर अहिले अत्यधिक चापमा परेको छ र थप मानिसलाई सम्हाल्ने क्षमता नभएको बताउने गरेका छन् । 

स्थानीय बासिन्दा गाब्रिएलाले भनिन्,‘उनीहरू गरिबीमा बाँचेका छन् र राम्रो जीवन चाहन्छन् भन्ने कुरा म बुझ्छु । तर हाम्रो अवस्था पनि बुझिदिनुहोस्। यहाँ जम्मा ८० हजार मानिस बस्छन्, अनि अचानक ७० हजारभन्दा बढी मानिस आइपुगे-हामीले कसरी सबैलाई समायोजन गर्ने ? हामीसँग पर्याप्त ठाउँ छैन, क्षमता छैन, र यसलाई व्यवस्थापन गर्ने उपयुक्त नीति पनि छैन ।’

सीमा नाका क्रमशः सामान्य अवस्थामा फर्कँदै जाँदा संकटको सबैभन्दा गम्भीर चरण समाप्त भएको जस्तो देखिए पनि, स्युटामा रहेका आप्रवासीहरूको समस्या भने अझै समाप्त भएको छैन। १० वर्षभन्दा बढी समयदेखि स्युटामा ट्याक्सी चलाउँदै आएका करिमका अनुसार धेरै अनियमित आप्रवासीहरू अझै पनि सहरका विभिन्न स्थानमा अलपत्र परिरहेका छन्। उनीहरू युरोपको मुख्य भूभागतर्फ जान सक्दैनन्, तर मोरक्को फर्कन पनि चाहँदैनन्।

उनका अनुसार अन्ततः धेरै आप्रवासीहरूले स्युटा छाड्ने निर्णय गर्न सक्नेछन । तर युरोप पुग्ने सपना पूरा भएकाले होइन, बरु यहाँको वास्तविकता बुझेर छाड्ने छन् ।(सीसीटीभीप्लस)

प्रकाशित : 7 August, 2026 1:09 pm