काठमाडौं । नेपालमा उद्यमशीलता, नवप्रवर्तन र रोजगारी सिर्जनालाई प्रवर्द्धन गर्ने उद्देश्यसहित ‘स्टार्टअप समिट नेपाल–२०२६’ को औपचारिक शुभारम्भ गरिएको छ। त्रिभुवन विश्वविद्यालयको केन्द्रीय पुस्तकालय सभाहलमा ‘राष्ट्र निर्माणमा स्टार्टअपको भूमिका’ विषयक विशेष कार्यक्रममार्फत अभियान सुरु गरिएको हो।
आयोजकका अनुसार अभियानको उद्देश्य बढ्दो ‘ब्रेन ड्रेन’लाई ‘ब्रेन गेन’मा रूपान्तरण गर्दै युवाको ज्ञान, सीप र सिर्जनशीलतालाई स्वदेशमै उद्यम र रोजगारीसँग जोड्नु हो। यस अभियानअन्तर्गत स्टार्टअप, व्यवसाय दर्ता, व्यवसाय योजना, लगानी व्यवस्थापन, स्टार्टअप कर्जा, बजार विस्तार तथा उद्यम सञ्चालनका चुनौती र अवसरबारे व्यवहारिक जानकारी प्रदान गरिनेछ।
कार्यक्रमको पहिलो चरण त्रिभुवन विश्वविद्यालयबाट सुरु गरिएको छ। आगामी दिनमा काठमाडौं विश्वविद्यालयसहित देशभरका विश्वविद्यालय, कलेज, विद्यालय तथा सातै प्रदेशमा यस्ता कार्यक्रम सञ्चालन गरिने आयोजकले जनाएको छ।
कार्यक्रमका प्रमुख अतिथि त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा. डा. भोला थापाले विश्वविद्यालय शिक्षालाई उद्यमशीलतासँग जोड्नुपर्ने आवश्यकता औँल्याउँदै यस्ता कार्यक्रम देशव्यापी रूपमा सञ्चालन हुनुपर्ने बताए। विश्वविद्यालयले आवश्यक सहकार्य गर्न तयार रहेको उनको भनाइ थियो।
कार्यक्रमकी अध्यक्ष तथा स्टार्टअप समिट नेपाल–२०२६ की अध्यक्ष शोभा ज्ञवालीले नेपालमा बढ्दो युवा पलायनलाई अवसरमा रूपान्तरण गर्न सबै सरोकारवाला एकजुट हुनुपर्ने बताइन्। उनले युवाले विदेशमा अवसर खोज्नेभन्दा नेपालमै अवसर सिर्जना गर्ने वातावरण निर्माण गर्नु अभियानको मुख्य उद्देश्य रहेको उल्लेख गरिन्।
कार्यक्रमका विशेष अतिथि तथा किनोट वक्ता, औद्योगिक व्यवसाय विकास प्रतिष्ठानका निवर्तमान कार्यकारी निर्देशक इन्जिनियर उमेश कुमार गुप्ता रौनियारले सफल व्यवसायका लागि ठूलो पूँजीभन्दा सही सोच, इच्छाशक्ति र निरन्तर मेहनत आवश्यक पर्ने बताए। उनले कम्पनी दर्तादेखि लगानी व्यवस्थापन र स्टार्टअप कर्जासम्मका विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए।
त्रिभुवन विश्वविद्यालय, केन्द्रीय व्यवस्थापन विभागका प्राध्यापक डा. भारत थापाले शैक्षिक संस्थामा यस्ता कार्यक्रम आवश्यक रहेको बताउँदै भविष्यमा पनि सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरे।
कार्यक्रममा करिब २०० विद्यार्थी, प्राध्यापक, उद्योगी–व्यवसायी, सञ्चारकर्मी तथा विभिन्न क्षेत्रका प्रतिनिधिको सहभागिता रहेको थियो। सफल नेपाली स्टार्टअप उद्यमी तथा वैदेशिक रोजगारीबाट फर्किएर स्टार्टअपमार्फत व्यवसाय सुरु गरेका उद्यमीहरूको अनुभवसमेत प्रस्तुत गरिएको थियो।
आयोजकका अनुसार ‘स्टार्टअप समिट नेपाल–२०२६’ एकदिने कार्यक्रम नभई नेपालमा नवप्रवर्तन र उद्यमशीलताको संस्कृति विकास गर्ने दीर्घकालीन राष्ट्रिय अभियान हो। अभियानलाई देशभर विस्तार गर्दै विश्वविद्यालय, निजी क्षेत्र, बैंक तथा वित्तीय संस्था र सरकारी निकायबीच सहकार्य बढाउने लक्ष्य राखिएको छ।


Comment