काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले देशका दशकौंदेखि थाँती रहेका समस्याहरू एकै बजेटले समाधान गर्छ भन्ने अपेक्षा अव्यावहारिक भएको बताएका छन्। सोमबार काठमाडौंमा आयोजित आर्थिक वर्ष २०८३/०८४ को बजेटसम्बन्धी नीति संवाद कार्यक्रममा बोल्दै उनले बजेटलाई चमत्कारको रूपमा होइन, अर्थतन्त्रको दिशा निर्धारण गर्ने औजारको रूपमा बुझ्नुपर्नेमा जोड दिए।
उनका अनुसार बजेट बनाउने क्रममा सरकारले स्रोत कहाँबाट जुटाउने र कहाँ खर्च गर्ने भन्ने विषयको करिब ७० प्रतिशत निर्णय पहिले नै तय भइसकेको हुन्छ। त्यसैले बजेट आएपछि सबै समस्या एकैपटक समाधान हुन्छ भन्ने सोच गलत भएको उनले स्पष्ट पारे।
मन्त्री वाग्लेले भने, “स्रोत, समय र अपेक्षाको चापबीच बजेट ल्याइएको हुन्छ। बजेटका सन्दर्भमा अलिकति अतिरञ्जना पनि हुन्छ। दशकौंदेखि थाँती रहेका समस्या एउटै बजेटले समाधान गर्छ भन्ने अपेक्षा अव्यवहारिक हो।”
उनले बजेटलाई अर्थतन्त्रलाई अघि बढाउने दिशानिर्देशको रूपमा बुझ्नुपर्ने उल्लेख गर्दै राज्यको सीमित स्रोत र समयभित्र प्राथमिकताका आधारमा योजना बनाइने बताए।
कर प्रणालीमा गरिएको सुधारबारे बोल्दै उनले विगत तीन दशकदेखि एकैपटक यति ठूलो कर संरचनामा परिवर्तन नभएको र यस वर्ष केही महत्वपूर्ण प्रयास गरिएको जानकारी दिए। यद्यपि समयको दबाबका कारण अझ परिपक्व रूपमा काम गर्न नसकिएको उनले स्वीकार गरे।
उनका अनुसार चुनावअघि गरिएको प्रतिबद्धताअनुसार समग्र करको बोझ घटाउने प्रयास बजेटमार्फत गरिएको छ। “हामीले करको बोझ घटाउने वाचा गरेका थियौं, त्यसलाई न्याय गर्ने प्रयास गरेका छौं,” उनले भने।
मन्त्री वाग्लेले बजेटले मात्र अर्थतन्त्रको सम्पूर्ण समस्या समाधान गर्न नसक्ने स्पष्ट पार्दै बजेटले सिर्जना गर्ने नीतिगत आधार र लगानीको वातावरणमार्फत निजी क्षेत्रले अर्थतन्त्रलाई अघि बढाउने बताए।
उनका अनुसार सरकारले लगानी, संरचना र नीति सुधारमार्फत आधार तयार गर्छ भने निजी क्षेत्रको सक्रियताले आर्थिक वृद्धिलाई गति दिन्छ।






Comment